जगदम्बा इन्टरप्राइजको वार्षिक आम्दानी साढे १५ अर्ब


जगदम्बा स्टील्स उत्पादक कम्पनी जगदम्बा इन्टरप्राइजले सन् २०२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा १४ अर्ब २ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा १०.२३ प्रतिशतले बढेको हो । कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएता पनि अन्य वित्तीय सूचकांकमा भने गिरावट आएको छ ।

ह्रासकट्टी, परिशोधन (अर्मोटाइजेसन), ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा सन् २०२२ मा कुल सञ्चालन आम्दानीको ३.१९ प्रतिशत रहेको छ । सन् २०२१ मा यस्तो अनुपात १०.७८ प्रतिशत थियो । यसका साथै कम्पनीले लिएको कर्जाको ब्याज तिर्न सक्ने क्षमतामा पनि गिरावट आएको छ । सन् २०२१ मा कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ८.३ गुणा थियो भने सन् २०२२ मा १.४५ गुणा छ ।

सन् २००१ मा स्थापना भएको जगदम्बा इन्टरप्राइज प्रालिले स्टीलका सामाग्रीहरु उत्पादन गर्दै आएको छ । एमएस ब्लाक एन्ड ग्यालभनाइज्ड पाइप, टिएमटी छड, सटर प्रोफाइल, सटर गाइड, लक प्लेट, प्रि–फ्याब्रिकेटेट बिल्डिङ कम्पोनेन्टस् तथा स्टील पोलको उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन क्षमता वार्षिक ९ लाख २० हजार ६०० मेट्रिक टन रहेको छ ।
कम्पनीले जगदम्बा र जगशक्ति ब्रान्डनामबाट फलाम तथा स्टीलका सामाग्रीको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

अनिल कुमार रुङ्गटाको नेतृत्वमा सञ्चालनमा रहेको कम्पनीको निर्देशकमा विशाल पटवारी छन् ।

कम्पनीले १५ अर्ब ८० करोड ६६ लाख २२ हजार बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले १ अर्ब ८८ करोड ६६ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र १३ अर्ब ९२ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए ४ प्लस रेटिङ दिएको छ ।

नेपालमा २० वर्षदेखि स्टीलका सामाग्री उत्पादन गर्दै आएको कम्पनी छड उत्पादन गर्ने अग्रणी कम्पनीका रुपमा स्थापित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।