आम्दानीमा आएको ह्रासले टेलिकमको नाफा साढे ६६ करोड घट्यो

0
Shares

सरकारी स्वामित्वमा सञ्चालित देशकै ठूलो दूरसञ्चार प्रदायक संस्था (नेपाल टेलिकम लिमिटेड) को खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा ७.८६ प्रतिशत अर्थात ६६ करोड ६२ लाख ७ हजार रुपैयाँले घटेको छ ।

दूरसञ्चार कम्पनीहरुबीचको प्रतिस्पर्धाले बिक्री आम्दानी र सञ्चालन आम्दानी घटेपछि कम्पनीको मुनाफा प्रभावित बनेको हो । टेलिकमले गत आवमा ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । घिल्लो आवमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत र अन्य आम्दानी ४५.३४ प्रतिशत घटेको छ । गत आवमा टेलिकमले सेवा बिक्रीबाट ३६ अर्ब ८० करोड ३९ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको हो । अघिल्लो आवमा सेवा बिक्रीबाट ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै अन्य आम्दानी २९ करोड ढ२ लाख १९ हजार छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी भने ३१.४५ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ५१ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।

टेलिकमको कुल आम्दानी १.११ प्रतिशत बढेपनि खर्च बढ्दा समग्रमा नाफा भने घट्न पुगेको हो । टेलिकमको कुल नाफा ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रुपैयाँ छ । यस अवधिमा टेलिकमको सञ्चालन तथा मर्मत खर्च ६.२७ प्रतिशत बढेर ७ अर्ब ५० करोड १२ लाख २० हजार पुगेको छ । यस्तै प्रशासनिक खर्च पनि ११.५१ प्रतिशत बढेर १ अर्ब २५ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । उठ्न बाँकी रकम २ अर्ब ४७ करोड ९६ लाख १५ हजार छ ।

चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको नेपाल दूरसञ्चार कम्पनीको प्रति सेयर आम्दानी (इपीएस) ४३ रुपैयाँ ३६ पैसा छ । नाफा घटेसँगै कम्पनीको प्रति सेयर आम्दानी पनि अघिल्लो आवको तुलनामा ३ रुपैयाँ ७० पैसा घटेको हो । कम्पनीको जगेडा कोषमा ७५ अर्ब ८२ करोड ८१ लाख ९३ हजार रुपैयाँ सञ्चित छ । जुन अघिल्लो आवको तुलनामा १ अर्ब ४४ रुपैयाँ कम हो । असार मसान्तसम्म टेलिकमको प्रति सेयर नेटवर्थ ५२१ रुपैयाँ २७ पैसा छ । यस्तै मूल्य आम्दानी अनुपात २०.९२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।