कर्णालीमा बीमाबाट १८१ जनाका परिवार लाभान्वित

0
Shares

प्राकृतिक प्रकोपका विभिन्न घटनामा परी मृत्यु भएका कर्णालीका एक सय ८१ जनाका परिवारले सामूहिक जोखिम दुर्घटना बीमाबाट करिब साढे तीन करोड रूपैयाँ रकम प्राप्त गरेका छन्।

तीन वर्षको अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परी मृत्यु भएका एक सय ८१ जनाका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम दुर्घटना बीमाबाट तीन करोड ६२ लाख रूपैयाँ रकम प्राप्त गरेका हुन्।

प्रकोपबाट मृत्यु भएका प्रतिपरिवारले दुई लाख रूपैयाँका दरले रकम पाएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेश सरकारले २०७६ सालमा प्रदेशका सबै नागरिकको सामूहिक दुर्घटना जोखिम बीमा गरिदिएको थियो।

राष्ट्रिय बीमा कम्पनीसँगको सम्झौताअनुसार कर्णालीका करिब १७ लाख व्यक्तिको सामूहिक बीमा सरकारले गरिदिएको छ। एक व्यक्ति बराबर नौ रूपैयाँ पर्नेगरी सरकारले नै नागरिकको बीमा गरिदिएको हो।

प्रदेशका कुनै पनि नागरिकको प्रकोप या प्राकृतिक विपद्‌बाट निम्तिने दुर्घटनाले मृत्यु भएमा दुई लाख रूपैयाँ पाउने र उक्त रकम राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराउने गरेको आन्तरिक मामिला मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए।

उनका अनुसार आव २०७७/७८ मा विभिन्न प्राकृतिक प्रकोपमा परी मृत्यु भएका ५९ जनाका परिवारले बीमा रकम पाएका छन् भने आव २०७८/७९ मा ५८ जनाका परिवारले बीमा रकम पाएका छन्। त्यसैगरी आव २०७९/८० मा ६४ जनाका परिवारलाई सामूहिक दुर्घटना बीमाबाट रकम दिइएको रोकायले जानकारी दिए। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ भदौ २०८०, शनिबार  १३ : ३६ बजे