साउनमा ६० उद्योगका लागि १२ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ६० वटा उद्योगका लागि झण्डै १२ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार साउनमा ५४ साना, ४ वटा मध्यम तथा २ वटा ठूला उद्योगमा गरेर ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँबराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।

जुन अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा साढे ४ गुणा बढी हो । अघिल्लो वर्षको साउनमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो ।

विभागले प्रत्यक्ष वैदेशिक लगानीमै स्थापना भएका ६ कम्पनीहरुको सेयर खरिद सम्झौता स्वीकृत गरेको हो भने ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर लगानी सम्झौतालाई स्वीकृत गेको हो । 

साउन महिनामा विभागले स्वीकृत गरेका ६० परियोजनाबाट ३ हजार ३ सय १ जनाले रोजगारीको अवसर प्राप्त गर्नेछन् । स्वीकृत औद्योगिक परियोजना मध्येमा पर्यटन क्षेत्रका ४६ प्रतिशत, ४३ प्रतिशत सर्भिस क्षेत्र, ७ प्रतिशत उत्पादन क्षेत्र, २ प्रतिशत आइटी तथा संचार, २ प्रतिशत परियोजना कृषि क्षेत्रमा आधारित रहेका छन्।

विभागका अनुसार साउन महिनमा पर्यटन क्षेत्रका २८, सर्भिस क्षेत्रका २६, उत्पादन क्षेत्रका ४, आइटी तथा संचार क्षेत्रको १ र कृषि क्षेत्रमा आधारित १ परियोजनाको वैदेशिक लगानी स्वीकृत भएको हो ।

यस्तै साउन महिनामा व्यवसायिक भिसा मार्फत २९३ लगानीकर्ता, ३९ प्रतिनिधि र ७३ आश्रित लगानीकर्ता नेपाल आएका छन् । त्यसैगरी विज्ञापनका लागि १८ र प्रविधि हस्तान्तरण सम्झौताका लागि ४ वटा गैर–पर्यटकीय भिसा प्रदान भएको विभागले जनाएको छ।

साउन महिनामा मात्रै वैदेशिक लगानीकर्ताहरुले २० करोड ३० लाख बराबरको लाभांश फिर्ता लगेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।