राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकले ९१ दिन अवधिको ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र ३६४ दिन अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेभित्र अनलाइन माध्यमबाट बोलकबोल गरिसक्नुपर्नेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।
केन्द्रीय बैंकले जारी गर्ने ९१ दिन अवधिको ट्रेजरी मंसिर ५ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०८१ भदौ ४ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल सरकारले एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यसको निष्कासन गरिन्छ ।

ट्रेजरी बिलको प्रमाणपत्र भुक्तानी मिति अगावै खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

यसअघि साउन २९ गते निष्कासन भएको ट्रेजरी बिल्सको औषत डिस्काउन्टदर ६.४४४२ तथा १८२ दिन अवधिको ट्रेजरी बिल्स ६.४८७६ कायम भएको थियो । २८ दिन अवधिको ट्रेजरी भने सरकारले नै खरिद गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।