राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरहरुलाई ॐ हस्पिटलको उपचारमा विशेष छुट

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिल बीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकका डेबिट–क्रेडिट कार्ड भएका ग्राहकहरु तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने ब्यवस्था मिलाइएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पुरानो र प्रतिष्ठित ॐ हस्पिटलमा बैंकका कार्डहोल्डर ग्राहकहरुले उपचारमा छुट पाउनु सकारात्मक भएको बताए । उनले दुबै सस्थाले एक अर्कामा आफ्नो सेवा सहुलितदरमा उपलब्ध गराउन सकिने सम्भावना रहेको बताए ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनी आकस्मिक उपचारदेखी सघन उपचार अनि पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको बताए । यी सेवाहरुमा राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरी अगाडि बढ्न पाउँदा खुशी लागेको महतले बताए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रम डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख रिको स्थापितले सञ्चालन गरेकी थिइन् । समारोहमा हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारी, बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुखहरु आनन्द सुवेदी, अच्युत गौतम, बरिष्ठ प्रबन्धक गगनसिंह घिमिरे, प्रबन्धक हेमन्त जि.सी., प्रबन्धक राजेश मानन्धर, सहायक प्रबन्धक ईश्वर उप्रेतीको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।