कुथेली बुखरीको सेयर मूल्यमा छलाङ, बन्यो जलविद्युतमा चौथो ठूलो मूल्यको कम्पनी

0
Shares

कुथेली बुखरी स्मल हाइड्रोपावरको धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार सुरु भएको आज तेस्रो कारोबार दिन हो । नेप्सेले दिएको अधिकतम कारोबार रेञ्जमा पहिलो कारोबार खुला भएको कम्पनीको सेयर मूल्यमा लगातार तेस्रो कारोबार दिन सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको सेयरमूल्य जलविद्युत क्षेत्रमा सूचीकृत कम्पनीहरुमध्ये चौथो ठूलो बनेको छ ।

सोमबारदेखि ‘केबिएसएच’ (KBSH) कारोबार संकेतमा दोस्रो बजारमा सेयर कारोबार खुला भएको कम्पनीको सेयर पहिलो दिन सोमबार प्रतिकित्ता ४७९ रुपैयाँमा कारोबार भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १५९ रुपैयाँ ६७ पैसादेखि ४७९ रुपैयाँ ०१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको थियो । सोही अनुसार कम्पनीको सेयर पहिलो दिन नै स्पेसल प्रि–ओपन सेसनमा अधिकतम कारोबार रेञ्जमा खुलेको थियो । नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गरेको छ । आइतबार कम्पनीको कुल १२ लाख १८ हजार ६७५ कित्ता आईपीओ सूचीकृत भएको थियो ।

बुधबारसम्म आइपुग्दा कम्पनीको सेयर प्रतिकित्ता ६३७ रुपैयाँ ४० पैसा पुगेको छ । यो मूल्य सेयर बजारमा सूचीकृत हाइड्रोपावर कम्पनीहरुमध्ये चौथो ठूलो हो । कुथेली बुखरी स्मल हाइड्रोपावरभन्दा धेरै सेयरमूल्य हुनेमा शुभम् पावर लिमिटेडेको ६५५ रुपैयाँ, रुरु जलविद्युत कम्पनीको प्रतिकित्ता ७८० रुपैयाँ, माउन्टेन इनर्जीको प्रतिकित्ता ९२६ रुपैयाँ हाराहारीमा धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री भैरहेको छ । सूचीकृत ७४ जलविद्युत कम्पनीमध्ये बाँकी ७० कम्पनीहरुको सेयर मूल्य कुथेली बुखरी स्मल हाइड्रोपावरभन्दा कम छ ।

सेयर बजारमा सूचीकृत अधिकांश कम्पनीहरुको सेयरमूल्य तल्लो बिन्दुमा रहेको बेला केही जलविद्युतहरुको भने उच्च देखिएको छ । कुथली बुखरीको सेयर लगातार तेस्रो कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारखुला भएको दिन सोमबार कम्पनीको सेयर दश प्रतिशतले बढेर कम्पनीको सेयर ५२६ रुपैयाँ ९० पैसा पुग्यो । उक्त दिन कम्पनीको १ हजार १०२ कित्ता सेयर ५ लाख ७८ हजार ७४० रुपैयाँमा खरिद बिक्री भयो । यस्तै दोस्रो दिन मंगलबार कम्पनीको सेयरमूल्य ९.९८ प्रतिथशत बढेर ५७९ रुपैयाँ ५० पैसा पुगेको थियो । मंगलबार कम्पनीको ९७० कित्ता सेयर ५ लाख ६१ हजार ८१ रुपैयाँमा करोबार भयो । आज बुधबार कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर ६३७ रुपैयाँ ४० पैसा पुगेको छ । बुधबार कारोबार खुला भएको दुई घण्टामा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा ५०० कित्ता सेयर ३ लाख १७ हजार ५६० रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम र कित्ता बढ्ने देखिएको छ ।

कम्पनीको सेयर खरिदका लागि १२७ बढी खरिद आदेशबाट सर्किट मूल्यमा १ लाख २० हजार ५४८ कित्ताको माग रहेको छ । कम्पनीको सेयर बिक्रीका लागि कुनै आदेश छैन । अर्थात मागको तुलनामा आपूर्ति कम हुँदा कम्पनीको सेयर बिक्री आदेश नदेखिएको हो । सर्किट मूल्यमा नै सेयर खरिद गर्न चाहनेका लागि समेत सेयर पाउने अवस्था छैन । पुँजी नै कम भएको र त्यसमा पनि सर्वसाधारणमा जारी सेयर पौने २ लाखभन्दा कम हुँदा कम्पनीको सेयरको आपूर्ति ज्यादै न्यून छ । सेयर बजारमा न्यून आपूर्ति हुने सेयरमा कारोबारीहरुले सबै सेयर उठाएर कर्नरिङ्ग समेत हुने गरेकाे छ ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको २० प्रतिशतले हुन आउने २ लाख ४३ हजार ७३५ कित्ता सेयर सार्वजनिक निष्कासन गरेको हो । त्यसमध्ये स्थानीयमा १ लाख २१ हजार ८६८ कित्ता र सर्वसाधारणमा १ लाख २१ हजार ८६७ कित्ता सेयर छ । आरक्षित सेयर भएका कारणले स्थानीयको सेयर तीन वर्षसम्म खरिद बिक्री गर्न पाइन्न । सर्वसाधारण तर्फको सेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने हुन्छ । यस आधारमा हाल कम्पनीकाे १ लाख २१ हजार ८६७ कित्ता सेयर मात्र काराेबार हुनसक्छ ।

सबल वित्तीय अवस्थाले निरन्तर सेयरमूल्यमा वृद्धि

हाइड्रोपावरले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्यतु आयोजना सञ्चालन गर्दै आएको छ । कम्पनीको आयोजना स्थल तथा जलविद्युत उत्पादन केन्द्र र अन्य भौतिक पूर्वाधारहरु दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा रहेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम मिति २०६८ साउन २६ मा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई मिति २०७१ माघ १४ मा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भई दर्ता भएको हो ।

एक मेगावाटभन्दा कम क्षमताको यस आयोजनाको कुल लागत भने जलविद्युत आयोजनहरुको औसतभन्दा उच्च छ । पहिलो आयोजना र कम अनुभव भएका कारण लागतका हिसाबले यो आयोजना ममङ्गो हुन पुगेको थियो । आयोजनाको प्रतिमेगावाट लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ छ । आयोजनको कुल लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ छ । निर्माण भएका जलविद्युत आयोजनाहरु औषतमा १८ करोडदेखि २० करोडमा जलविद्युत आयोजना सम्पन्न हुने गरेका छन् ।

आयोजनाले विद्युत उत्पादन सुरु गरेको ८ वर्ष भयो । देशमा चरम लोडसेडिङको अन्त्य गर्न सरकारले विद्युत संकटकाल घोषणा गरेका बेला गाउँकै खोलाको पानी प्रयोग गरेर विद्युत उत्पादन गर्ने गरी कुथेली आयोजनाको निर्माण सुरु भएको थियो । जिल्लाको सुस्पाक्षमावतीमा पहिचान भएको यो आयोजना स्थानीयबासी र केही बाहिरका लगानीकर्ता मिलेर निर्माण गरी सञ्चालनमा ल्याए । सुस्पाक्षमावतीको कुथेली खोलामा डाइभर्सन निर्माण गरी कुलो र पेनस्टक पाइप मार्फत पानी फर्काएर भीमेश्वर नगरपालिका–१ क्षमावतीको कुथेली बेशीमा सर्जट्याङ्क निर्माण गरी दोल्ती खोला दोभानमा पावर हाउस निर्माण गरिएको छ । आयोजनाको ग्रेस हेड २१८ मिटर छ ।

आयोजनामा लगानी गर्ने समूहले । पहिलो आयोजना कुथलीलाई जननी मानेर त्यसबाटै अनुभवबाट सिकेर अहिलेसम्म २०० मेगावाटका जलविद्युत आयोजनामा लगानी विस्तार गरेको छ । ८ वर्षमा लगानी विस्तार गरी निर्माणाधीन र निर्माणामा जाने चरणमा रहेका जलविद्युत आयोजनासहितको जडित क्षमता २ सय मेगावाट छ । सो समूहले दैलेखमा द्वारी खोला, इलाममा सुपर माई,सुपर माई ‘ए’ र सपर माई क्यासकेड लगायतका आयोजना निर्माण सम्पन्न गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । अरु आयोजना निर्माणाधीन र लगानी जुटाएर निर्माणमा जाने चरणमा छन् ।

कस्तो छ कम्पनीको कमाई ?

कम्पनीले आईपीओ जारी गर्नका लागि सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले २०७९ चैतसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ करोड ३४ लाख १३ हजार रुपैयाँ नाफा गरेर वार्षिक प्रति सेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

गत आवको अन्त्यसम्म ७ करोड ६३ लाख ५९ हजार रुपैयाँ नाफा गरेर वार्षिक १५ रुपैयाँ २३ पैसा कायम गर्ने प्रक्षेपण कम्पनीको थियो । यद्यपी हालसम्म कम्पनीले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

आव २०७८/७९ मा कम्पनीले ५ करोड ८१ लाख ७१ हजार रुपैयाँ नाफा गरेर वार्षिक १९ रुपैयाँ ७४ पैसा कायम गरेको थियो । सोभन्दा अघिल्लो दुई वर्षमा क्रमशः ३ करोड ९३ लाख १२ हजार र ३ करोड ३३ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ती वर्षहरुमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी क्रमशः १२ रुपेयाँ ८६ पैसा र १६ रुपैयाँ २८ पैसा थियो ।

आगामी दुई आर्थिक वर्षहरुमा कम्पनीले आफ्नो आम्दानी बढाउने लक्ष्य राखेको छ । सोही अनुसार कम्पनीले आव २०८०–८१ मा ९ करोड ५५ लाख ५० हजार रुपैयाँ र आव २०८१–८२ मा ११ करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीले आव २०८०–८१ मा १६ रुपैयाँ ७ पैसा र आव २०८१–८२ मा १७ रुपैयाँ १ पैसा वार्षिक प्रतिसेयर आम्दानी गर्ने आंकलन गरेको छ ।

आयोजनाबाट साधारण लगानी फिर्ता हुन ९.३७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुन लाग्ने अवधि २०.१० वर्ष रहेको छ । आयोजनाले २०७२ असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आइरहेको छ । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ किलोभोल्ट प्रसारण लाइनबाट विद्युत बिक्री गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।