आधुनिक ईटा उत्पादक एशियन कंक्रीटोको वार्षिक आम्दानी ४२ करोड

0
Shares

नेपालका तीन व्यापारिक घराना–रुङ्गटा ग्रुप, केडिया ग्रुप र सिद्धार्थ ग्रुपको लगानी रहेको आधुनिक ईटा उत्पादक कम्पनी–एशियन कंक्रीटो प्रालिले आर्थिक वर्ष २०७९/८० मा ४२ करोड रूपैयाँ (अपरिष्कृत) सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३५ करोड २० लाख रूपैयाँ  बराबरको सञ्चालन आम्दानी गरेको थियो । अघिल्लो वर्षको परिष्कृत आम्दानी र गत वर्षको अपरिष्कृत आम्दानीलाई तुलना गर्दा कम्पनीको आम्दानी १९.३१ प्रतिशतले बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा भएको वृद्धिसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा समेत सुधार आएको छ । ह्रासकट्टी, परिशोधन (अर्मोटाइजेसन), ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा आव २०७९/८० मा कुल सञ्चालन आम्दानीको ३८ प्रतिशत रहेको छ । अघिल्लो आवमा उक्त नाफा कुल सञ्चालन आम्दानीको २९ प्रतिशत थियो ।

सन् २०१६ मा स्थापना भएको कम्पनीले पेबर्स, कर्बस्टोन, हलो ब्रिक्सको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । पछिल्लो समयमा नेपालमा पेबर्सको प्रयोग बढ्दै गएको छ । विशेषतः शहरी क्षेत्रमा पैदल यात्रुका लागि निर्माण गरिने बाटोमा पेबर्सको प्योग गरेको पाइन्छ ।

यस्तै २०७२ सालको भूकम्पपछि निर्माण भएका घरहरुमा हलो ब्रिक्स वा बीचमा खाली भएका इटाहरुको प्रयोग बढ्दै गएको छ । कम्पनीको फ्याक्ट्री नवलपरासीको हाकुई गाउँमा अवस्थित छ । वार्षिक रुपमा १ लाख ४४ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले आफ्नो क्षमताको पूर्ण प्रयोग गरेमा आम्दानीमा अझ सुधार आउने देखिन्छ ।

कम्पनीले ७८ करोड बराबरको कर्जाका लागि ऋण लिएको छ । ६६ करोड बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई डबल बी माइन्स र १२ करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीलाई ए४ रेटिङ गरेको छ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.७ गुणा रहेको छ । कम्पनीको आम्दानीमा आएको सुधारका कारण कम्पनीको ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता समेत बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।