नेपालमा प्याजको मूल्य आकाशिदा नेपालमा नै उत्पादन भइरहेको प्याज भने भारत निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०८०\८१ को पहिलो महिना अर्थात साउनमा मात्रै २५ लाख २० हजार मूल्य बराबरको प्याज निर्यात भएको भन्सार विभागले जनाएको छ । सो अवधिमा नेपालबाट ४ हजार किलो सुकेको प्याज भारत निर्यात भएको हो ।
भारतले भदौ २ गतेदेखि लागू हुने गरी ४० प्रतिशत भन्सार कर लगाएको थियो । सोही दिन अर्थात भदौ २ गतेको भोलीपल्टदेखि नै प्याजको भाउमा वृद्धि भएको छ । भाउ वृद्धि मात्र नभई कालिमाटीमा व्यवसायीहरुले २ दिन प्याज आयात नगर्दा कालिमाटीमा प्याजको कारोबार नै रोकिएको थियो ।
तर नेपालमा उत्पादन हुने प्याज भने भारतमा निर्यात हुने गरेको छ । यसरी प्याज निर्यात हुनु भनेको व्यवस्थापनमा कमी भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महार्जन बताउँछन् । नेपालबाट निर्यात हुने प्याजमा पनि कर लगाउनु पर्ने उनको भनाई छ ।
नेपालमा ९० प्रतिशत प्याज भारतबाट नै आयात हुने गरेको छ । नेपालमा उपयोग हुने प्याजको १० प्रतिशत मात्र स्वदेशमा नै उत्पादन हुन्छ । त्यही उत्पादन पनि नेपालमा नै उपभोग नहुनु दुःखद भएको र सरकारले चाँडो अर्को कदम चाल्नु पर्ने उनको भनाई छ । तराइको चुरेबाट धेरै मात्रामा भारतमा प्याज निर्यात हुने गरेको छ । त्यो निर्यातलाई रोक्ने सरकारको क्षमता नभएको महर्जनले बताए । उनले भने, ‘नेपालले प्याज निर्यात रोक्न सक्दैन किनभने नेपाली उत्पादनले नेपाललाई पुग्दैन, पछि फेरी उतैबाट ल्याउनु पर्ने हुन्छ बरु उत्पादित प्याजमा बढी भन्सार लगाउन भने ढिला गर्नु हुँदैन ।’
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया