रिडी पावरले सेबोनसँग माग्यो ५० प्रतिशत हकप्रद बेच्न अनुमति

0
Shares

रिडी पावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर बिक्री गर्न अनुमति माग गरेको छ ।

विद्युत नियमन आयोगबाट यसअघि नै पूर्व स्वीकृति लिइ साधारण सभाबाट अनुमोदन गराएको कम्पनीले साउन २४ गते पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन पेश गरेको हो । कम्पनीको गत असार ८ गते सम्पन्न भएको विशेष साधारण सभाले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर पारित गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका (१ कित्ता बराबर ०.५० कित्ता) अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ ।

हकप्रद मार्फत् संकलन भएको पूँजीलाई सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेको २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजना निर्माणमा लगानी गर्नेछ । निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ अर्ब ४० करोड रुपेयाँ लगानीमा बन्ने छ । जसमा कुमारी बैंकको अगुवाईमा ७५ प्रतिशत ऋण लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।