समुहको एक सदस्यले कर्जा डिफल्ट गरे सबै निष्कृय वर्गमा पर्ने, आगामी माघदेखि लागू

0
Shares

 

नेपाल राष्ट्र बैंकले कर्जा भुक्तानी तथा खराब कर्जाको वर्गिकरणलाई थप कडाइ गरेको छ । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै कुनै समुहको एक ब्यक्तिले कर्जा नतिरे समुहका अन्य सदस्यहरु पनि सोही वर्गमा पर्ने व्यवस्था गरेको हो ।

कुनै समुहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा समुहमा रहेका अन्य ऋणीहरुको उक्त ऋणीसँगको व्यवसायिक अन्र्तसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी प्रत्यक्ष रुपमा प्रभावित हुने समुहका अन्य ऋणीहरुलाई समेत निष्कृय वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।
जस्तैः समुहका पाँच ऋणीहरुमध्ये कुनै एक ऋणी कमसल वर्गमा वर्गीकरण भएमा बाँकी रहेका चार ऋणीमध्ये प्रत्यक्ष प्रभावित हुने एक ऋणी भएमा सो ऋणी नियमित भएको अवस्थामा समेत कमसल वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।

कमसल वर्गमा वर्गीकरण भएको ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित नभएका अन्य तीन ऋणीलाई भने कमसल वर्गमा वर्गीकरण गर्न बाध्य हुने छैन । त्यसैगरी कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा वक्यौतालाई कम्तिमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।

पुनर्संरचना र पुनर्तालिकीकरण गरेका बाहेक कुनै पनि कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नति गर्न सकिनेछ । तर, यसरी स्तरोउन्नति गर्दा कर्जा नोक्सानी व्यवस्था पनि सोही अनुसार कायम गर्नुपर्नेछ ।

निष्कृय वर्गमा वर्गीकरण भएका कर्जा सोही वर्गभित्र स्तरोन्नति हुन आवश्यक प्रावधान पूरा गरेको ६ महिना बितेको हुनुपर्नेछ । यसरी स्तरोन्नति भएको कर्जाको हकमा समेत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । यो व्यवस्था आगामी माघ १ गतेदेखि मात्र लागू हुने केन्द्रीय बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।