सन नेपाल लाइफको आईपीओमा ५१ प्रतिशत आवेदकको हात खाली हुँदै

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मुल्यमा निष्काशन भएको आईपीओ ५१ प्रतिशत आवेदकले नपाउने देखिएको छ । आईपीओमा उच्च आवेदन परेका कारण कुल आवेदकमध्ये आधा बढीले सेयर नपाउने स्थिति सिर्जना भएको हो ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले भदौ १५ गते शुक्रबार आईपीओ बाँडफाँड गर्दैछ । क्यापिटलको कार्यालयमा शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँड गरिन लागिएको एसबिआई मर्चेण्टले नोटबजारलाई जानकारी दियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४, बमोजिम हुने बाँडफाँडमा कम्पनीको आईपीओ भाग्यमानी ७ लाख ६८ हजार आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् ।

कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले निर्देशिका अनुसार आईपीओ बाँडफाँड गर्दा न्यूनतम १० कित्ताका दरले वितरण गर्नुपर्ने हुन्छ । जसअनुसार सबै आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्न अपुग हुने हुँदा गोलाप्रथाबाट सेयर पाउने लगानीकर्ता छनोट हुनेछ ।

आईपीओमा पौने १६ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अन्तिम दिनसम्मको तथ्याङ्क अनुसार इन्स्योरेन्सको आईपीओमा १५ लाख ८० हजार ४९० जनाले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि आवेदन परेको छ । अन्तिम दिनको तथ्याङ्कलाई आधार मान्दा ८ लाख १२ हजार ४९० जनाको हात खाली हुनेछ । यो कुल आवेदकको ५१.४१ प्रतिशत बराबरको हो । बाँकी ४८.५९ प्रतिशतले मात्र आईपीओ सेयर पाउनेछन् । यद्यपी रितपुर्वक नपरेका आवेदन रद्द हुँदा केही केही प्रतिशत बढीले पाएपनि सेयर पाउने संख्या भने ७ लाख ६८ हजार जना नै हुनेछ ।

कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल ९६ लाख कित्ता निष्कासन गरेको थियो । जसमध्ये ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भैसकेको छ । सामुहिक लगानी कोषका लागि ४ लाख ८० हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ४ लाख ८० हजार कित्ता सुरक्षित राखेको थियो । बाँकी ७६ लाख ८० हजार कित्ता बिक्रीका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा सेयर बिक्री गरेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औसतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।