हिमालयन क्यापिटल लिमिटेडले निष्कासनमा ल्याएको पहिलो सामुहिक लगानी कोष योजना ‘हिमालयन ८०–२०’ ९५ प्रतिशत बिक्री भएको छ ।
सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बिहीबार बिहान १० बजेसम्ममा ‘हिमालयन ८०–२०’ को इकाई खरिदका लागि ८ करोड ४ लाख २ हजार १३० इकाई खरिदको माग परेको हो ।
हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि कुल १० करोड इकाई बिक्रीमा ल्याएकोमा १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको थियो ।
‘हिमालयन ८०–२०’ हिमालयन बैंक प्रवद्र्धक रहि बैंकको सहायक कम्पनी क्यापिटल मार्फत पहिलो पटक निष्कासनमा आएको सामुहिक लगानी कोष योजना हो ।
बैंकिङ्ग क्षेत्रमा तीन दशक बढी समयदेखिको सक्रिय रहेको समुहबाट सञ्चालित हुने भएकाले सेयर बजार ओरालो लागिरहेको बेलामा समेत आम लगानीकर्ताले फन्डको इकाई खरिदमा चासो दिएका हुन् । पछिल्लो दिनमा मात्रै फन्डको इकाई खरिदका लागि थप २० करोड लगानी प्रतिबद्धता आइसकेकाले इकाईको निष्कासन शुक्रबार नै बन्द हुने बिक्री प्रबन्धक तथा योजना व्यवस्थापक हिमालयन क्यापिटलले जनाएको छ । ‘हिमालयन ८०–२०’ योजना रिटेल इन्भेष्टर्सलाई लक्षित गरेर ल्याएको हुनाले आम लगानीकर्ताको पनि सोही अनुसार लगानी गरेका छन् ।
सेयर बजारमा कारोबार गर्ने पोर्टफोलियो ग्राहकहरुका लागि तीन वर्ष अघिदेखि नै प्रतिफल प्राप्त गर्नेगरी काम गर्दै आइरहेको हिमालयन क्यापिटलले यसबीचमा आर्जन गरेको सिकाई र अनुभवलाई बृहत रुपमा ठूलो स्केलमा लैजान ‘हिमालयन ८०–२०’ म्युचुअल फन्ड डिजाइन गरेको हो । ८० करोडको पोर्टफोलियो व्यवस्थापनको समयमा लगानी व्यवस्थापन सेवा दिँदा बजार बढेको बेला लगानीकर्तालाई बजारको वृद्धि अनुसार प्रतिफल दिन र घटेको बेला पोर्टफोलियोमा धेरै नै कम नोक्सानी राख्न सफल रहेको क्यापिटलको दाबी छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले हिमायन क्यापिटलको फन्ड म्यानेजरको रेटिङमा ‘इक्रा एनपी एएमसी क्यालिटी ३’ रेटिङ दिएको छ ।
शुक्रबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने
हिमालयन क्यापिटलका अनुसार ‘हिमालयन ८०–२०’ को इकाई खरिद गर्न इच्छुक लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र ( बिहीबार र शुक्रबार) आवेदन दिइसक्नुपर्नेछ । शुक्रबार साँझ पाँच बजेपछि इकाईको बिक्री बन्द हुनेछ ।
लगानीकर्ताले म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा वेवसाइट, धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत इकाई खरिदका लागि आवेदन दिन सकिनेछ ।
दश वर्ष अवधिको उक्त बन्दमुखी योजनााले लगानीकर्तालाई वार्षिक औषत २० प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । योजनाको इकाई बिक्रीबाट प्राप्त हुने रकमको ८० प्रतिशत रकम दीर्घकालनीन लगानी मार्फत प्रतिफल दिने उपकरणहरुमा र २० प्रतिशत रकम सेयर बजारमा आउने उतार–चढावमा फाइदा लिनेगरी लगानी गरिने योजना व्यवस्थापकको भनाई छ । मर्चेन्ट बैंकिङ्गमा अनुभवी र दख्खल राख्ने फन्ड सुपरभाइजरहरु र व्यवस्थापकहरु रहेकाले पनि फन्डले योजनाका इकाई खरिद गर्ने लगानीकर्तालाई प्रक्षेपित लाभांश वितरण गर्नसक्ने विश्वास क्यापिटलको छ ।
