अटोमोबाइल क्षेत्रका समस्याबारे नाडा प्रतिनिधिद्धारा अर्थमन्त्रीसँग छलफल

अटोमोबाइल क्षेत्रका समस्याबारे नाडा प्रतिनिधिद्धारा अर्थमन्त्रीसँग छलफल

नाडाका अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसँग भेटगरी अटोमोवाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरुमा छलफल गरेको छ । भदौ १३ गते भएको उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सदैव समस्याको रुपमा देखा पर्दे आएको सन्दर्भमूल्य सूचीका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरुसँग आवश्यक सल्लाहगरी ययार्थपरक मूल्य कायम गर्न अनुरोध गरेका छन् ।

सोही छलफलका क्रममा अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुनरतालिकीकरको व्यवस्था हुनुपर्ने, बैंक तथा वित्तिय निकायहरुलाई अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनुपर्ने, त्यस्तै बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालू रेसियोको हालको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका लागि अनुरोध गरेका थिए ।

अध्यक्ष थापाले चालु पुँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा वर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निक्रिय वर्गमा कर्जा वर्गीकरण गरिनुपर्ने व्यवस्थाले बैंक तथा वित्तिय निकायमा असल कर्जावालाहरुलाई समेत असर पर्न जाने बताए । कुनै पनि कर्जा निष्क्रिय वर्गमा वर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरेपछि पनि ६ महिनासम्म असल कर्जाको वर्गमा स्तरोन्नती नहुने व्यवस्थाले निजी क्षेत्रलाई हतोत्साहित बनाउने उनको भनाई छ । यो व्यवस्थालाई पनि तत्काल सच्याउनका लागि अध्यक्ष थापाले अर्थमन्त्री थापासँग आग्रह गरे ।

त्यसैगरी सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोवाइल उद्योगहरु पनि क्रमशः खुल्दै जाने क्रममा रहेको सन्दर्भमा यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरुलाई विशेष क्षेत्रमा वर्गिकरणगरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने लगायत काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्थागरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन आग्रह गरे ।

छलफलको अन्त्यमा मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफू जानकार रहेको र त्यसको समाधानका लागि प्रयाश गरिने आश्वासन दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ भदौ २०८०, शुक्रबार १६ : ५२ बजे