नेपालमा ६२ प्रतिशत कृषक परिवार, ४५ प्रतिशतलाई मात्र वर्षभरी खान पुग्ने

0
Shares

नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । अघिल्लो कृषिगणनामा कृषक परिवार ७१ प्रतिशत रहेकोे थियो ।

कृषिगणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको दिएको थियो ।

यो कृषिगाणनाले यस्ता कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या एक करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता संख्या २.८ देखिएको छ । अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः एक करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो ।

यसैगरी कृषिगणनाले कृषक परिवारले १२ लाख नौ हजार २६५.५ हेक्टर जग्गामा सिँचाई सुविधा लिएको देखिएको छ । यी कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाई सुविधा उपयोग भएको देखिन्छ । तर अघिल्लो कृषिगणना २०६८ मा सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो ।

यसरी नै यो गणनाका अनुसरा सिँचाई सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनले यो ६५ प्रतिशत रहेको देखाएको थियो । यरी नै सिँचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाई सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर (७२.७ प्रतिशत) रहेको यो गणनाले औंल्याएको छ ।

विगतका गणनाहरुमा जस्तै यस गणनामा पनि सवैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली (२५,८६,१८३.० हेक्टर) लगाएको पाईएको छ भने अन्य बालीहरुमा क्रमशः कोसे/दाल बाली (१,९९,८४४.८ हेक्टर), तेल बाली (१,८०,१४१.१ हेक्टर), तरकारी बाली (१,०७,७३३.८ हेक्टर), कन्दमुल बाली (१,०४,७३७.८ हेक्टर), मसला बाली (५६,८९३.५ हेक्टर) र नगदे बाली (४४,६०९.३ हेक्टर) रहेको पाईएको छ ।

कृषिगणना २०७८ अनुसार धान बाली लागेको क्षेत्रफल १२,१६,३८७.७ हेक्टर, मकैको क्षेत्रफल ५,५९,९०९.३ हेक्टर र गहुँको क्षेत्रफल ६,५४, १९४.३ हेक्टर हुन आएको देखिन्छ ।

कृषिगणना २०७८ अनुसार बाली सघनता दर १.९१ देखिएको छ । यो सूचकले नेपालमा कृषकहरुले बर्षमा सरदर दुई बाली लगाउने गरेको ईंकित गरेको छ । गत कृषिगणना २०५८ र २०६८ मा यो दर क्रमशः १.८३ र १.८५ देखिएको थियो ।

स्थायी बालीमा बगैंचाको रुपमा लगाईएको आँपको क्षेत्रफल १९,७८१.७ हेक्टर, केराको क्षेत्रफल ७,८९८.२ हेक्टर र सुन्तलाको क्षेत्रफल ६,५४५. ३ हेक्टर, कागतीको क्षेत्रफल २,८०६.९ हेक्टर र स्याउको क्षेत्रफल ३,०८०.२ हेक्टर हुन आएको देखिन्छ । यी सबै फलफुल बालीहरुको क्षेत्रफल गत कृषिगणनाको भन्दा बढेको देखिएको छ।

नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३,५३,८५७ बाट बढेर ३४,०५,०१४ हुन लाख, राँगाभैंसीको संख्या करिव २९ लाख, पुगेका छन् भने गाईगोरुको संख्या करिव ४६ बाख्रा/खसी/बोका/च्याङ्ग्राको संख्या करिव १ करोड ४२ लाख, सँगुर/वंगुर/बदेलको संख्या करिव १४ लाख, कुखुराको संख्या करिव ४ करोड ५१ लाख हुन आएको देखिन्छ। यो गणनाले उन्नत गाई र भैंसीको संख्यामा उल्लेखीय बृद्धि भएको देखाएको छ।

कृषिगणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यको लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ । यसैगरी सन्दर्भ अवधिमा ४,७१,२६० कृषक परिवारले कृषिकार्यकालागि पावरट्रिलर प्रयोग गरेको र १,१७,९९१ वटा पावरट्रिलर सञ्चालनमा रहेको देखिन्छ।

यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको संख्यामा उल्लेखीय रुपमा गिरावट आएर ८५६,२८३ बाट ५०९,८२५ वटा हुन पुगेको देखिन्छ। कृषिगणना २०७८ ले ४२,००८ कृषक परिवारले ४८,७६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ। यसरी माछापालन गरिएका पोखरीहरुको कूल क्षेत्रफल १०,३८३ हेक्टर रहेको समेत यो गणनाले औंल्याएको छ। अघिल्लो कृषिगणना २०६८ ले यस्ता कृषक परिवारको संख्या १७,१९१, पोखरीको संख्या २१,२७७ र पोखरीको जम्मा क्षेत्रफल २,५१९.७ हेक्टर देखाएको थियो ।

यो गणनाको प्राप्त नतिजाले १७,५५४ कृषक परिवारले च्याउखेती गरेको देखाएको छ ।गणनाको प्राप्त नतिजाअनुसार १,९६,८५४ कृषक परिवारले ५,१०,४१४ वटा घारमा मौरीपालन गरेको पाइएको छ। अघिल्लो कृषिगणना २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको संख्या १२४,१५० पाईएको थियो ।
यो गणनाको प्राप्त नतिजाले १०,३७५ कृषक परिवारले ५९७.७ हेक्टर जग्गामा पुष्पखेती÷/र्सरीखेती गरेको देखाएको छ ।

कृषिगणना २०७८ अनुसार ४,८३,२०८ (११.७ प्रतिशत) कृषक परिवारले कृषि प्रयोजनको लागि ऋण लिएको बताएका छन् भने २०६८ को गणनामा यसप्रकारको ऋण लिएको भनी उल्लेख गर्ने कृषक परिवारहरु ८,३५,९२१ (२१.८ प्रतिशत) रहेको देखिएको थियो ।·

कृषिगणना २०७८ अनुसार १,८२,४४१ (४.४ प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् भने यसरी बीमा गरेकामध्ये सवैभन्दा बढी १,५३,९६२ (८४.४ प्रतिशत) कृषक परिवारले पशुपालन कार्यको लागि बीमा गरेको बताएका छन् ।

यस गणनाबाट प्राप्त नतिजाअनुसार ३,०८,५१२ (७.५ प्रतिशत) कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने यसरी सरकारी अनुदान पाएकामध्ये सवैभन्दा बढी १,४२,५७६ (४६.२ प्रतिशत) कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन्।

यो गणनाका अनुसार ९७,१७४ कृषक परिवारले ४,६५९.२ हेक्टर जग्गामा हरितगृह/टनेल पद्धतिबाट खेती गरेको पाइएको छ।

कृषिगणना २०६८ अनुसार मुख्य कृषकमा ८१.० प्रतिशत पुरुष र १९.० प्रतिशत महिला रहेका थिए भने कृषिगणना २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७.६ प्रतिशत र महिलाको हिस्सा बढेर ३२.४ हुन पुगेको देखिन्छ।

यो कृषिगणनाको प्राप्त नतिजाअनुसार कृषक परिवारमा अक्सर बसोबास गर्ने जम्मा जनसंख्या १,९४,४७,९५५ रहेको छ। यी कृषक परिवार जनसंख्यामध्ये महिला ९९,०४,१३० (५०.९ प्रतिशत) र पुरुष ९५,४३,८२५ (४९.१ प्रतिशत) देखिन आएका छन् ।

यो गणनाले ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य श्रोत कृषिकार्य रहेको देखाएको छ। अघिल्लो कृषिगणनाले यो प्रतिशत ८३.१ देखाएको थियो।

गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरी खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए । कृषिगणना २०७८ अनुसार अधिकांश (८८%) कृषक परिवारको मुख्य कृषि उत्पादन/क्रियाकलाप खाद्यान्न बाली रहेको छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः तरकारी बाली (६%) र पशुपालन (३%) रहेको देखिन्छ ।

यस गणनाको प्राप्त नतिजाअनुसार आफ्नो कृषिकार्यबाट भएको सवै उत्पादन घरायसी उपभोगको लागि हो भनी बताउने कृषक परिवार ६८.८ प्रतिशत, सबै विक्रीको लागि हो भनि बताउने १.१ प्रतिशत, मुख्यत घरायसी उपभोग र केहि बिक्रीको लागि हो भनी बताउने २४.७ प्रतिशत र मुख्यत बिक्री र केहि घरायसी उपभोगका लागि हो भनी बताउने ५.४ प्रतिशत रहेको देखिएको छ ।

जम्मा कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन्। अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो।

वि.सं. २०१८ सालदेखि हरेक दश/दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साबिकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत १ गतेदेखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क संकलन कार्य सम्पन्न गरेको थियो ।

तीनै तहका सरकारहरूलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्य सहित कृषिगणनाको सार कृषि योजनाको पूर्वाधार मूलनाराका साथ सञ्चालित राष्ट्रिय कृषिगणना २०७८ सङ्घीयतापछिको पहिलो कृषिगणना भएको छ ।

विगतका कृषिगणनाहरुमा जिल्लास्तर सम्मका कृषि तथ्याङ्क मात्र प्रकाशन हुँदै आएकोमा यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको छ ।

वैज्ञानिक विधिबाट तीन लाख ३० हजार ११२ कृषक परिवारहरू छनौट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण सङ्कलनका लागि पाँच हजार १५० गणक, एक हजार ३५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतहरू सहित करिब सात हजार दुई सय कर्मचारी प्रत्यक्ष र परोक्षरुपमा परिचालित भएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।