तीन घरानाको लगानी रहेको श्री स्टील्सले ६ महिनामा गर्यो ३ अर्ब आम्दानी

0
Shares

व्यापारिक घराना सिद्धार्थ ग्रुप, केडिया ग्रुप र मुरारका ग्रुपको संयुक्त लगानी रहेको श्री स्टील्सले आर्थिक वर्ष २०७९/८०को ६ महिनामा ३ अर्ब २ करोड ४० लाख सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १३ करोड ८० लाख आम्दानी गरेको थियो। गत आवको ६ महिनाको तथ्यांकलाई अघिल्लो आवको सोही अवधिको सञ्चालन आम्दानीसँग तुलना गर्दा कम्पनीको सञ्चालन आम्दानी ४ करोड ५० लाखले घटेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा गिरावट आएता पनि अन्य वित्तीय सूचांकहरुमा राम्रो सुधार देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर सहितको कम्पनीको नाफा गत आवको ६ महिनामा कुल सञ्चालन आम्दानीको ६ प्रतिशत रहेको छ । जुन अघिल्लो आवमा २.३ प्रतिशत थियो ।

सन् २०१६ मा स्थापना भएको कम्पनीले टिएमटी छड, वायर लगायतका स्टीलका सामाग्रीहरुको उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन क्षमता प्रतिवर्ष १ लाख ५० हजार मेट्रिक टन रहेको छ ।

टिएमटी छड उत्पादनमा नव–प्रवेशी रहेको यस कम्पनीमा नेपालका ३ व्यापारिक घरानाको लगानी रहेको छ । कम्पनीमा सिद्धार्थ ग्रुपको ५० प्रतिशत, केडिया ग्रुपको २५ प्रतिशत र मुरारका ग्रुपको २५ प्रतिशत लगानी रहेको छ ।

कम्पनीले ३ अर्ब १४ करोड ५ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले १ अर्ब १४ करोड ५ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र २ अर्ब बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ०.९ गुणा रहेको छ । यसअघि कम्पनीको ब्याज भुक्तानी क्षमता कुल कर्जाको ०.६ गुणा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।