राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले भदौ २५ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भदौ २४ गते आइतबार बोलकबोल मार्फत बिक्री गरिनेछ।

यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ भदौ २५ गते परिपक्व हुनेछ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी बोलकबोलहरुलाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र अप्रतिस्पर्धी बोलकबोलहरुलाई १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।