अर्थतन्त्र सुधारका लागि सम्बद्ध सबै पक्षसँग छलफल गर्ने गृहमन्त्री श्रेष्ठको आश्वासन


उप प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाल उत्पन्न आर्थिक मन्दी समाधानका लागि सबै पक्षसँग छलफल गरिने बताएका छन् । सोमबार मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री श्रेष्ठले यस्तो आश्वासन दिएका हुन् ।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले महासंघले गरेको आग्रह अनुरुप निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्ने आश्वासन समेत दिएका थिए ।
भेटका क्रममा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु पर्नेमा जोड दिएका थिए । अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले निजी क्षेत्र सम्मानित भएर आप्mनो काम गर्न सक्ने वातावरण आवश्यक रहेकोतर्फ गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।

अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रिय बैंक र सरकार दुवैको भूमिका रहेको बताएका ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । अहिलेको अवस्थामा यस्तो व्यवस्थाले मनोबल बढाउन भूमिका खेल्ने उनको भनाई थियो । जवाफमा गृहमन्त्री श्रेष्ठले यस बिषयमा काम भैरहेको र छिट्टै निर्णय गरिने बताएका थिए ।

अध्यक्ष ढकालले सिमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताएका थिए । कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनः संचालनका लागि पनि ढकालले आग्रह गरेका थिए ।

गिटी वालुवा लगायतका वस्तुहरुको आवश्यक वातावरणीय लगायतका प्रभाव अध्ययन गरि निकासी गर्न दिइनुपर्ने सुझाव महासंघको प्रतिनिधिमण्डलले दिएको थियो । पोखरा र गौतम वुद्ध विमानस्थल संचालनका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव महासंघको थियो ।

सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा बजारमा रकम प्रवाह गर्न बिकास निर्माणमा सरकारी लगानी आवश्यक रहेकोतर्फ महासंघले जोड दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।