रमेश कर्पको लगानी रहेको टेलीटकको वार्षिक आम्दानी साढे १ अर्ब

0
Shares

व्यापारिक घराना रमेश कर्पको लगानी रहेको टेलीटकले सन् २०२२ मा १ अर्ब ४२ करोड ३० लाख सञ्चालन आमदानी गरेको छ । सन् २०२१ मा २ अर्ब ११ करोड १० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा ३२.५ प्रतिशतले घटेको हो ।

सन् २००८ मा स्थापना भएको कम्पनी प्रख्यात मोबाइल उत्पादक कम्पनी नोकियाको आधिकारिक बिक्रेता रहेको छ । पछिल्लो समयमा कम्पनीले भारतीय इलेक्ट्रोनिक्स कम्पनी बोटका एसेसोरिजको समेत बिक्री वितरण गर्दै आएको छ ।

यस्तै कम्पनीले कलर्स ब्रान्डका किप्याड तथा स्मार्ट फोनहरुको बिक्री वितरण गर्दै आएको छ ।

पछिल्लो समयमा बजारमा एप्पल र सामसुङ ब्रान्डका मोबाइल फोनहरुको प्रयोग बढ्दै गएको छ । नेपाली बजारमा विभिन्न नयाँ कम्पनीले बजार विस्तार गर्दै जाँदा कलर्स र नोकियाका प्रयोगकर्ताको सङख्या क्रमिक रुपमा घट्दै गएको छ । जसको असर कम्पनीको आम्दानीमा परेको छ ।

रमेश क्रप प्रमोटर रहेको यस कम्पनीमा रोहित गुप्ता, प्रतिक जलान र सञ्जय अग्रवालको लगानी रहको छ । कम्पनीका अध्यक्ष रोहित गुप्ता हुन् ।

कम्पनीले ८९ करोड ३० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । ३१ करोड ५० लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले डबल बी र ५७ करोड ८० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.४८ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।