नेप्से ३९ अंकले बढेपछि २ हजार बिन्दुमाथि, एनआईसी एशिया बैंकको उच्च कारोबार

0
Shares

साताको चौथो तथा यो साताको अन्तिम कारोबार दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ। ३९.४८ अंकको उच्च अंकले वृद्धि भएको छ ।

मंगलबार दोहोरो अंकले ओरालो लागेको बजारमा नेप्से बढेसँगै २००७ दशमलव ०६ को बिन्दुमा कायम भएको छ । हरियाली छाएको बजारमा सूचीकृत २७५ कम्पनीहरुका ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर ३६ हजार ४५ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँको छ ।

सेयर बजार बढेसँगै १३ वटै उपसमुहगत सूचकमा हरियाली छाएको छ । राम्रो लाभांश घोषणा गर्ने वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो देखिएको छ । जलविद्युत सर्वाधिक ३.६२ प्रतिशत बढेको छ। त्यस्तै वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

एनआईसी एशिया बैंकको ७ करोड ९३ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा एभरेष्ट बैंकको पनि ६ करोड ३८ लाख ३१ हजारको सेयर खरिद बिक्री भएको छ । यस्तै सोल्टी होटलको ६ करोड ७० लाख ८३ हजार, शिवम् सिमेन्टको ५ करोड ७२ लाख २६ हजार र आइएमई लाइफको ३ करोड ८८ लाख २४ हजार रुपेयाँको सेयर खरिद बिक्री भएको हो ।

बरुण हाइड्रोपावर र शुभम् पावर गरी दुई स्टकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावरको सेयर प्रतिकित्ता २२ रूपैयाँ बढेर २४२ रूपैयाँ पुगेको छ। शुभम पावरको ८१ रूपैयाँ ४४ पैसाले बढेर ८९६ रूपैयाँ पुगेको छ । त्यस्तैगरी, यस दिन समता घरेलु लघुवित्त ९.८६ प्रतिशत र अरुण काबेली पावरको सेयर मूल्य ९.०३ प्रतिशतले बढेको छ । यस्तै अपि पावरको सेयर मूल्य ८.२८ प्रतिशतले बढेको छ ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य बुधबार सर्वाधिक ८ प्रतिशत घटेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७ रुपैयाँले घटेर ३१३ रूपैयाँमा झरेको छ । सिटिजन म्युचुअल फन्ड–२, स्वाभिमान लघुवित्त र १०.२५% नेपाल एसबिआई डिबेञ्चर २०८३ को मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको १.७१ प्रतिशतले शेयरमूल्य घटेको छ । बुधबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ४ अर्ब ६२ करोड ५२ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।