एनआईसी एशिया बैंकको लाभांश घोषणा, दुई वर्षपछि सेयरधनीले पाए

0
Shares

एनआईसी एशिया बैंककोा लाभांश प्रस्ताव भएको छ । बैंकले दुई आर्थिक वर्षपछि लाभांश वितरण गरेको हो ।  यसअघि दुई आर्थिक वर्षसम्म पुँजी कोष अनुपात कायम गर्न असफल भएपछि बैंकलाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँदा सेयरधनीको हात खाली भएको थियो ।

बैंकको २०८० भदौ २८ गते बिहीबार बिहान १०:०० बजे बैंकको रजिष्टर्ड कार्यालय थापाथली, काठमाण्डौमा सम्पन्न बैंकको सञ्चालक समितिको ६२९ औं बैठकले आर्थिक वर्ष २०७९–८० को बाट कुल ३०.५२६३ प्रतिशत (३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको २९ प्रतिशतका दरले हुन आउने रकम ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ बोनस सेयर र १.५२६३ प्रतिशतका दरले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने निर्णय गरिएको हो ।

आव २०७९–८० बाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी २६ औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात् प्रचलित ऐन कानून बमोजिमका प्रक्रियाहरु पूरा गरी वितरण गरिने बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँ रहेको छ । प्रस्तावित २९ प्रतिशत बोनस सेयर पुँजीकरणपछि बैंकको चुक्ता पुँजी १४अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ कायम हुनेछ ।

पुँजी कोष अनुपात कायम गर्न नसक्दा बैंकले आव २०७७/७८ र आव २०७८/७९ बाट सेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन । तीन आर्थिक वर्षमा बैंकले एकमुष्ट रुपमा साढे तीस प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

बैंकले आव २०७६/७७ बाट भने सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।