वेतन वृद्धिको माग गर्दै अमेरिकामा १३ हजार मजदूर हड्तालमा

वेतन वृद्धिको माग गर्दै अमेरिकामा १३ हजार मजदूर हड्तालमा

संयुक्त राज्य अमेरिकामा वेतन वृद्धिको माग गर्दै करिब १३ हजार कामदार सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् ।

आफ्ना तर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हड्तालमा उत्रिएका हुन् ।

युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिशिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जीप कारखानामा काम ठप्प पारेका छन् । मजदूहरूको सेवा सुविधासम्बन्धी चारवर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो ।

कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदूरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीहरूले दिएका छन् । तीनवटै कम्पनीमा मजदूर एकैसाथ आन्दोलनमा उत्रिदा अटो उद्योगमा समस्या हुने उनीहरूले बताएका छन् ।

राष्ट्रपति जो बिडेनलाई अमेरिकी इतिहासमा सबैभन्दा युनियन–मैत्री भनिए पनि मजदूरका माग सम्बोधन नभएकाले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा त्यसले प्रभाव पार्ने ठानिएको छ । विश्वभरका कामदारले अटो मजदूरहरूको यो आन्दोलनलाई नजिकबाट नियालीरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ भदौ २०८०, शुक्रबार १७ : ४८ बजे