हवाइ सुरक्षामा सबैको गम्भीर चासो र गम्भीरता हुनुपर्छः प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हवाइ सुरक्षामा सबैको गम्भीर चासो र गम्भीरता हुनुपर्ने बताएका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको नवनिर्मित भवन समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले प्राधिकरणको तर्फबाट हवाइ सुरक्षाका निम्ति महत्वपूर्ण प्रयासहरू भएका भएपनि ती प्रयासहरू जोखिम न्यूनिकरणका दृष्टिले पर्याप्त नभएको बताए ।  अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ‘‘आइसिएओ” ले प्रतिपादन गरेको हवाइ सुरक्षा सम्बन्धी विश्वव्यापी मापदण्डप्रति नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउँदै प्रधानमन्त्रीले त्यसका लागि नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारमा ठोस पहल लिइने समेत स्पष्ट पारे ।

प्रधानमन्त्री दाहाल भने, “पहाडी जिल्लाहरूसहित देशभरिमा ३० वटा विमानस्थलले हवाइ सेवा प्रदान गरिरहेका छन् । यद्यपी यी विमानस्थलको पूर्वाधार विकास, अत्याधुनिक उपकरणहरूको प्रबन्ध लगायतका विषयमा गम्भीर ध्यान दिन प्राधिकरणलाई निर्देशित गर्दछु ।” विगतमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा २०७९ सालमा मात्रै पोखरा र भैरहवा गरी थप २ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भई उद्घाटन समेत भइसकेको अवस्थामा सञ्चालनमा आइसकेका विमानस्थलहरू पूर्ण कार्यक्षमतामा सञ्चालनका निम्ति सरकारले आफ्नो तर्फबाट आवश्यक पहल र अग्रसरता लिइरहेको समेत उनले बताए ।

यस्तै त्रिभुवन विमानस्थलको आधुनिकीकरण गर्ने गुरूयोजना अन्तिम चरणमा पुगेकाले सो कार्यलाई तीव्रताका साथ अगाडि बढाउन उनले प्राधिकरणलाई निर्देशिन दिए । उनले भने, “ निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा विज्ञ समूहबाट प्राप्त सुझावका आधारमा निर्माण कार्य अगाडि बढाउन मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइने समेत म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।”

पूर्वाधार विकास र हवाइ सुरक्षामा प्राधिकरणले लिएको पहलप्रति आभार व्यक्त गर्दै उनले भविष्यमा थप स्पष्ट नीति, कार्ययोजना र कार्यक्रमका साथ अगाडि बढ्न प्राधिकरणलाई उनले निर्देशन दिए ।

आजभन्दा २५ वर्षअघि स्थापना भएको नेपाल नागरिक उडड्यन प्राधिकरण विभिन्न उतारचढावका साथ वर्तमान अवस्थासम्म आइपुगेको र कार्यालयको नयाँ भवनको उद्घाटनसम्म आइपुग्दा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै गएको प्राधनमन्त्रीले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ भदौ २०८०, शुक्रबार १९ : ३७ बजे