पहिलो महिनामै भित्रियो एक खर्ब १६ अर्ब रेमिट्यान्स

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा मात्रै एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।