दुई महिनामा चालु खर्च ८७ अर्ब, विकास खर्च ८ अर्ब मात्रै

0
Shares

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ) मा कुल बजेट खर्च एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख रुपैयाँ पुगेको छ । जुन कुल विनीयोजनको ७.४९ प्रतिशत हो ।

भदौ मसान्तसम्म सरकारले चालु खर्च ८७ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ गरेको छ । तर, यस अवधिमा पूँजीगत खर्च भने ८ अर्ब १६ करोड ३९ लाख मात्र गरेको छ । चालु खर्च लक्ष्यको ७.६८ प्रतिशत र पूँजीगत खर्च भने वार्षिक लक्ष्यको मात्र २.७ प्रतिशत खर्च भएको हो ।

यस अवधिमा वित्तीय व्यवस्थातर्फ ३५ अर्ब ३१ करोड ३९ लाख खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ११.४९ प्रतिशत हो ।

राजस्वतर्फ दुई महिनामा संकलन एक खर्ब ४१ अर्ब नाघेको छ । दुई महिनामा कुल १ खर्ब ४१ अर्ब ७ करोड ७१ रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको ९.९२ प्रतिशत प्रगति हो । यो वर्ष सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

दुई महिनामा सरकारले एक खर्ब २७ अर्ब ९५ करोड ६७ लाख कर राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ९.८ प्रतिशत हो । यस्तै यस अवधिमा १३ अर्ब १२ करोड गैर कर राजश्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्यको ११.२१ प्रतिशत हो । यस अवधिमा सरकारले १३ अर्ब १५ करोड ८८ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।

सरकारले दुई महिनाको अवधिमा एक खर्ब ५३ अर्ब २३ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेर कुल एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ । यसअवधिमा सरकारको खर्च भन्दा आम्दानी २२ अर्ब बढी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।