नेपालमा राइड सेयरिङ एप इनड्राइभ कानुनी दायरामा आउँदै


पछिल्लो समय शुन्य कमिशनका कारण नेपाली राइडरहरुका बिच लोकप्रिय बन्दै गएको राइड सेयरिङ एप इनड्राइभर कानुनी दायरामा आउने भएको छ ।

एशिया प्यासिफिकका लागि इनड्राइभरका निर्देशक रोमन इर्मोशिनले इनड्राइभरलाई नेपालको कानुन अनुसार दर्ता तथा सञ्चालनमा ल्याउने काम सुरु गरिएको बताएका हुन् । नेपाल भ्रमणका क्रममा काठमाण्डौं आएका उनले कम्पनीको हालको अवस्था र आगामी योजनाका बारेमा जानकारी दिँदै यस्तो बताएका हुन् ।

अन्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा यात्रुहरूका लागि सस्तो भाडा र चालकहरूका लागि कुनै कमिशन नभएका कारण इनड्राइभर लोकप्रिय रहँदै आएको छ।

एशिया प्यासिफिकका लागि इनड्राइभरका निर्देशक रोमन इर्मोशिनले इनड्राइभले सरकारी निकायमा दर्ताका लागि आवेदन गरिसकेको र स्वीकृतिको पर्खाइमा रहेको बताए । “हामी अनुसन्धान र विकास गतिविधिहरूमार्फत नयाँ बजारहरू परीक्षण गर्ने एक साझा उद्योग अभ्यासलाई पछ्याउँछौं । नेपालमा, हामीले कुनै शुल्क वा कमीशन नलिई नागरिकहरूलाई इनड्राइभ एप प्रदान गरेका छौं । यसले हामीलाई आधिकारिक रूपमा हाम्रा सेवाहरू सुरु गर्नुअघि बजार र यसको सम्भावना बुझ्न मद्दत गरेको छ,” उनले भने ।

सरकारी निकायहरूसँग सम्पर्कमा रहेको बताएका उनले आधिकारिक सुरुवात गर्नु अघि कानूनद्वारा आवश्यक इजाजतपत्र र स्वीकृतिहरू प्राप्त गर्न प्रतिबद्ध रहेको बताए ।

इन्ड्राइभ यात्रुहरुद्वारा संचालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ । राइड हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभले प्रमाणित गर्दै आएको बताएका उनले इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुन सक्ने बताए ।

उनका अनुसार हाल इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो । पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई इनड्राइभले सेवा प्रदान गरिरहेको पनि उनले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।