अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार असोज २ गते मंगलबार एक अमेरिकी डलरको नेपाली रुपैयाँमा विनियमयदर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ । यससँगै एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ५४ पैसा खर्च गर्नुपर्ने भएको छ । सोमबारको तुलनामा डलरको भाउ १४ पैसा बढेको हो । यसअघि डलरको भाउ अधिकतम १३३ रुपैयाँ ४४ पैसासम्म मात्रै पुगेको थियो ।
मंगलबार कायम विनियमयदर हालसम्मकै महँगो हो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोरबनेको हो । नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर छ ।
डलर महङ्गिँदा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाउने विप्रषण (रेमिट्यान्स) रकमबढ्ने तथा पर्यटन क्षेत्र, निकासीकर्तालाई फाइदा पुग्छ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ । साथै विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि राज्यले धेरै भुक्तानी गर्नुपर्ने हुन्छ । यस आधारमा नेपालको हकमा डलरको भाउ महंगो हुँदा फाइदाभन्दा बढी बेफाइदा हुने विज्ञहरु बताउँछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
