स्थानीयले बहिष्कार गरेपछि बिकेन १४ लाख कित्ता सोनापुरको सेयर

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा निष्काशन गरेको आईपीओ आयोजना प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानीय बासिन्दाहरुले बहिस्कार गर्दा १४ लाख ३ हजार कित्ता सेयर बिक्री हुन सकेन ।

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले उद्मोग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेकोमा १ लाख ३४ हजार ५२० कित्ता सेयर मात्र बिक्री भएको हो । उक्त सेयर मंगलबार बाँडफाँड गरिएको हो ।

कम्पनीले जारी पूँजी तीन अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ बराबरको ३ करोड ७ लाख ५० हजार ५०० कित्ताको ५ प्रतिशतले हुन आउने १५ लाख ३७ हजार ५२५ कित्ता सेयर प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँमा प्रिमियम वापत १२५ रुपैयाँ थप गरी २२५ रुपैयाँको दरमा निष्कासन गरेको थियो ।

उक्त सेयर खरिदका लागि तोकिएको मितिमा ६५७ जना आवेदकहरुबाट १ लाख ३४ हजार ५६० कित्ताका लागि आवेदन प्राप्त भएकोमा १ जना आवेदकको ४० कित्ता सेयरको आवेदन रितपुर्वक नदेखिएकोले सो आवेदनलाई अयोग्य ठह¥याई रद्द गरी कूल ६५६ जना आवेदकहरुलाई १ लाख ३४ हजार ५२० कित्ता बाँडफाँड गरिएको हो। रितपूर्वक आवेदन दिएका ६५६ जनाले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म मागेजति सेयर पाएको कम्पनीको सेयर बिक्री एनआईएमबि एस क्यापिटलले जनाएको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

यसअघि घोराही सिमेन्टको आईपीओ बहिस्कार गरेका स्थानीय बासिन्दाले दोस्रो सिमेन्ट कम्पनी सोनापुरको आईपीओमा पनि न्यून आवेदन दिएका थिए ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई अंकित मूल्यमा सेयर दिनको सट्टा कम्पनीले जगेडा कोषमा राखेर लाभांश वितरण गर्ने प्रयोजन सहित प्रिमियम मुल्य थप गरेपछि सेयर खरिद गर्न अनिच्छुक बनेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।