अर्थतन्त्रमा सुधार आएपनि आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने

0
Shares

चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र सुधार आएपनि सरकारले लिएको लक्ष्य पूरा नहुने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी) ले गरेको छ ।

एडिबीका अनुसार आर्थिक वर्ष २०२४ मा ४.३ प्रतिशत (बजार मूल्यमा) वृद्धि हुने अनुमान एडिबीको छ । जुन आर्थिक वर्ष २०२३ मा १.९ प्रतिशत रहने अनुमान गरिएको थियो ।

सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। सरकारले राखेको लक्ष्य भन्दा कम आर्थिक वृद्धि हुने एडिबीको प्रक्षेपण छ।

मुद्रास्फीतिमा न्यूनता र सहज विदेशी विनिमय सञ्चितिसँगै राष्ट्र बैंकको पछिल्लो मौद्रिक नीतिले ब्याजदर घटाउन र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा एडिबीको छ । रियल इस्टेट, थोक, खुद्रा व्यापार र आवास र खाद्य सेवाहरूमा विस्तार हुने अपेक्षा समेत गरेकोे छ ।

तर जुन महिनामा कम वर्षा र मौसमको अनियमितताका कारण कृषिको बृद्धिमा ह्रास आउनसक्ने तथा गाईवस्तुमा छाला रोगको प्रकोपको असरले कृषि क्षेत्र थप प्रभावित हुने एडिबीको भनाई छ ।

प्रतिवेदनले तेलको मूल्यमा आएको कमी र नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रास्फीतिमा आएको गिरावटका कारण आर्थिक वर्ष २०२३ मा वार्षिक औसत मुद्रास्फीति ७.७ प्रतिशतबाट आर्थिक वर्ष २०२४ मा ६.२ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ।

सरकारले चालू आर्थिक वर्षमा मुद्रास्फितीलाई साढे ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ। मुद्रास्फिती सरकारले लिएको लक्ष्य भन्दा कम हुने अनुमान एडिबीको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।