अमेरिकामा मूल्यवृद्धि नियन्त्रणमा आउँदै, फेडले सेप्टेम्बरमा ब्याजदर नबढाउने

0
Shares

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड)ले सेप्टेम्बर महिनामा ब्याजदर नबढाउने घोषणा गरेको छ । बैंकले मूल्यवृद्धिमा नियन्त्रणमा आएको जानकारी दिँदै सेप्टेम्बर महिनामा ब्याजदर नबढाउने घोषणा गरेको हो ।

फेडका अध्यक्ष जेरोम पावेलले सेप्टेम्बर महिनामा बैंकले ब्याजदर नबढाएता पनि सन् २०२३ को अन्त्यसम्ममा एकपटक ब्याजदर बढाउने घोषणा गरेका छन् । अगस्ट महिनामा अमेरिकाको उपभोक्ता मूल्यवृद्धि सूचांक ३.७ प्रतिशत रहेको छ । यस्तै कोर मुद्रास्फीति दर ४.३ प्रतिशत कायम छ ।

गत वर्षको तुलनामा अमेरिकाको मूल्यवद्धि दर ४.५३ प्रतिशत विन्दुले नियन्त्रणमा आएको छ । गत वर्ष अगस्ट महिनामा अमेरिकाको उपभोक्ता मूल्यवृद्धि सूचांक ८.२ प्रतिशत थियो ।

सन् २०२२ मा अमेरिकाको मूल्यवृद्धि दर ४० वर्ष यताकै उच्च विन्दुमा पुगेपछि फेडले आक्रामक शैलीमा ब्याजदर बढाएको हो । सन् २०२२ को मार्च महिनादेखि ब्याजदर बढाएको फेडले सन् २०२३ को सेप्टेम्बर महिनासम्ममा शून्य प्रतिशतबाट बढाएर ५.२५ प्रतिशत पु¥याएको छ । जुन ब्याजदर हालसम्मकै उच्च हो ।

फेडले आक्रामक शैलीमा ब्याजदर बढाउँदा अमेरिकाले आर्थिक मन्दीको सम्भावना उच्च हुँदै आएको छ । उच्च ब्याजदरका कारण ऋण लिएर नयाँ व्यवसायमा लगानी गर्ने मानिसहरुको क्षमता छैन । जसकारण नयाँ रोजगारीको सिर्जना हुन सकेको छैन । रोजगारी दर घट्दै जाँदा, अमेरिकाको आर्थिक वृद्धि दरमा समेत कमी आएको छ । यस अवस्थामा फेडले गरेको निर्णय स्वागत योग्य रहेको नेशनल एशोसियसन अफ रिएलटर्सका वरिष्ठ अर्थशास्त्री लरेन्स युनले बताएका छन्।

फेडले ब्याजदर नबढाउने निर्णय गरेसँगै अमेरिकाको सेयरबजार र रियल स्टेट क्षेत्रका लगानीकर्ताहरुले खुशी ब्यक्त गरेका छन् । फेडको ओपन मार्केट कमीटिको दुई दिने बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जेरोम पावेलले अमेरिकी अर्थतन्त्रको वर्तमान परिपेक्षलाई ध्यानमा राखी सेप्टेम्बर महिनामा ब्याजदर नबढाउने घोषणा गरेता पनि सन् २०२३ को अन्त्यसम्ममा ब्याजदर बढाउने बताएका छन् ।

यस्तै उनले सन् २०२४ मा अमेरिकी अर्थतन्त्रमा सुधार आएमा ब्याजदर सुस्त गतिमा घटाउदै लैजाने जानकारी गराएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।