सरकारको पैसा सरकारलाई नै लगानी गरेर कमाउने दाउमा बैंकहरु, राष्ट्र बैंकले गल्ति दोहोरिन देला ?

सरकारको पैसा सरकारलाई नै लगानी गरेर कमाउने दाउमा बैंकहरु, राष्ट्र बैंकले गल्ति दोहोरिन देला ?

बैंक तथा वित्तीय संस्थाहरुले सरकार तथा राष्ट्र बैंकबाट नै आम्दानी गर्ने पुनः प्रयास गरेका छन् । बैंकहरुले हिजोका दिनमा स्थायी तरलता सुविधाको पैसा महङ्गो दरमा ट्रेजरीमा लगानी गरे जस्तै अहिले स्थानीय तहको पैसालाई परिचालन गर्न खोजेका हुन् ।

बैंक तथा वित्तीय संस्थाले आजभन्दा करिब २ वर्षअघि केन्द्रीय बैंकबाट सस्तो दरमा स्थायी तरलता लिने, अनि उक्त रकमलाई उच्च दरमा सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी हुने ट्रेजरीमा लगानी गर्ने गरेका थिए । सरकारले पछिल्लो समयमा ब्याजदर घट्ने तथा आर्थिक गतिविधि विस्तार हुने अपेक्षा सहित बैंकहरुको स्थानीय तहको पैसालाई परिचालन गर्न दिएको छ । बैंकहरुले सोही रकमलाई केन्द्रीय बैंकका मौद्रिक व्यवस्थापन उपकरणको प्रयोग गरेर कमाउने प्रयास गर्न लागेका हुन् ।

विगतका वर्षहरुमा केन्द्रीय बैंकबाट ६ देखि ८.५ प्रतिशतसम्मको बैंकदरमा स्थायी तरला सुविधा लिई ट्रेजरी बिल्समा साढे ११ प्रतिशतसम्म डिस्काउन्ट रेट लिएका थिए । बैंकहरुले राष्ट्र बैंकको पैसालाइ नै चलाएर मात्रै करिब साढे २ देखि ५ प्रतिशत बिन्दुसम्मको मार्जिन आम्दानी गरेका थिए । बैंकहरुले स्थायी तरलता सुविधालाई गलत प्रयोग गरेको भन्ने भएपछि केन्द्रीय बैंकले कडाइ गर्यो ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थासँग तरलता र कर्जा लगानीयोग्य रकम प्रयाप्त भैराख्दा पनि ब्याजदर घटाउन भन्दै स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्ने व्यवस्थाको माग गरे । सरकारले पनि सुस्त रहेको आर्थिक गतिविधि ब्याजदर घटेको खण्डमा विस्तार हुने अपेक्षा सहित ६० प्रतिशतसम्म स्थानीय तहको सञ्चितिलाई निक्षेपमा गणना गर्न दियो । सोही अनुसार करिब ६५ अर्ब रुपैयाँ निक्षेप वित्तीय प्रणालीमा थप भयो ।

वित्तीय प्रणालीमा प्रयाप्त तरलता तथा कर्जा लगानी योग्य रकम हुँदा पनि बैंक वित्तीय संस्थाले सरकारको अपेक्षा विपरित केही बैंकहरुले असोज महिनाको ब्याजदर वृद्धि गरे । बैंकहरुले ब्याजदर बढाएपछि आर्थिक गतिविधि विस्तार हुने अवस्था देखिएन । कर्जाको माग बढ्ने र आर्थिक गतिविधि विस्तार भएसँगै समग्र अर्थतन्त्रमा माग बढ्ने सरकारी अनुमानलाई बैंकहरुले ब्याज बढाएर गलत सावित गरे । बैंकहरुले चर्को ब्याजदरको मारमा परेका उद्योगी व्यवसयीलाई ब्याज घटाई सहज आर्थिक गतिविधिको बातावरण बनाउनुको सट्टा स्थानीय तहको पैसालाई नै सरकारको आन्तरिक ऋणमा लगानी गर्ने वा राष्ट्र बैंकमा राखेर ब्याज आम्दानी गर्नेतर्फ ध्यान दिन थालेपछि ब्याजदर अस्थीर बन्यो ।

पछिल्लो समयमा सहज अवस्थामा समेत तरलता अभावमा रहेको भन्दै स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्ने व्यवस्था गराएका बैंकहरुले अधिक तरलता भएकाले मौद्रिक नीतिमा उल्लेख भएअनुसारको स्थायी निक्षेप सुविधा वा रिभर्स रिपो ल्याउनुपर्ने माग गरेका छन् । बैंकहले रिभर्स रिपोमा लगानी गरेको खण्डमा ब्याज पाउँछन् । त्यसैगरी स्थायी निक्षेप सुविधा प्रयोग गर्दा पनि ब्याजदर करिडोरको तल्लो सीमा कायम भएको ४.५० प्रतिशत ब्याज पाउँछन् । तर, बैंकहरुले स्थानीय तहको पैसामा भने व्याज तिर्नुपर्दैन । कर्जाको माग बढ्न नसक्दा लगानी विस्तार नभएपनि बैंकहरुले आम्दानी गर्ने नयाँ अवसरको रुपमा स्थानीय तहको पैसालाई प्रयोग गर्न खोजेको देखिन्छ ।

उच्च ब्याजदर तथा आर्थिकमन्दीका कारण उद्योगी व्यवसायीले नियमित क्षमतालाई समेत घटाउनु परेको अवस्था छ । यस्तो अवस्थामा पनि अर्थतन्त्रलाई गति दिनभन्दा पनि आफ्नै कमाईमा बैंकहरु केन्द्रित हुन नहुने एक अर्थशास्त्रीले बताए । उद्योगी व्यवसायीलाई ट्रान्सफर गर्न भनेर लिएको सुविधालाई सोही अनुसार परिचालन गरेको खण्डमा अर्थतन्त्रले गति लिने उनको भनाई छ ।

स्थानीय तहको पैसा निक्षेपको रुपमा बैंकमा आएपछि बैंकहरुको अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले अन्तर बैंकदर निक्षेप संकलन दर ४.५० प्रतिशत भन्दा तल आए स्थायी निक्षेप सुविधा प्रयोग गर्ने व्यवस्था गरेको छ । अहिले बैंकरहरुले अन्तर बैंकदर ४.५ प्रतिशत भन्दा तरलता झर्दा पनि केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन उपकरण वा रिभर्स रिपोको प्रयोग नगरेको भन्दै आलोचना गर्न थालेका हुन् ।

बैंकहरुले स्थायी तरलता सुविधा लिने भनेको लगानी गर्न वा सम्पत्ति सृजना गर्न नभई आपतकालिन भुक्तानीका लागि हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले स्थायी तरलता सुविधाको सन्दर्भमा कहाँ प्रयोग गर्न सक्नेभन्ने व्यवस्था नै रहेको बताए । “केन्द्रीय बैंक वा सरकारबाट पाउने सुविधाको गलत प्रयोग नहोस् भनेर राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षण बढाउने हो,” भण्डारीले भने, “केन्द्रीय बैंकले धेरै साना विषयहरुलाई चसो दिनु पनि उपयुक्त नहोला ।” तर, बैंकहरुले सरकार वा केन्द्रीय बैंकबाट लिएको सुविधालाई गलत प्रयोग गरी आम्दानी बढाउनमा केन्द्रित भएको खण्डमा माइक्रोम्यानेजमेनट पनि गर्नुपर्ने उनको भनाई छ । कसैले कमाउँछ भन्दा पनि ब्याजदर स्थायीत्वका लागि मौद्रिक उपकरणको प्रयोग गर्नु तथा तरलता व्यवस्थापन गर्नु केन्द्रीय बैंकको जिम्मेवारीभित्र रहेको उनले बताए । सोही अनुसार नियमित रुपमा मौद्रिक व्यवस्थापन गर्ने बताउँदै उनले भने,“गतल खालका गतिविधिलाई नियमन तथा सुपरिवेक्षणबाट नियन्त्रण गर्नुपर्छ ।”

केही वर्ष बैंकहरुले स्थायी तरलता सुविधा लिएर ट्रेजरीमा लगानी गरेर आम्दानी बढाउँदा सरकारलाई लागत धेरै परेको थियो । सो विषयमा महालेखापरीक्षकको कार्यालयले समेत बेरुजु देखाएको थियो । महालेखाले स्थायी तरलता सुविधाबाट बैंकहरुले ऋणपत्रमा लगानी गर्दा सरकारलाई ६ अर्ब ६० करोड रुपैयाँ बराबरको खर्चभार बढेको औंल्याएको थियो । पछिल्लो समयमा बैंकहरुले निःशुल्क लिएको स्थानीय तहको पैसालाई केन्द्रीय बैंकमा व्याज आम्दानी गर्ने गरी राख्न खोजेका हुन् ।

राष्ट्र बैंकले पनि ब्याजदर बढाउन नदिने गरी विकास ऋणपत्रको निष्कासन धेरै गर्दै आएको छ । सरकारको आन्तरिक ऋण उठाउनका लागि प्रयोग हुने विकास ऋणपत्रको अहिलेको कट अफ रेट ७ प्रतिशत रहेको छ । बैंकहरुले दीर्घकालिन अवधिको विकास ऋणपत्रका लागि धेरै ब्याजदर चाहिने भन्ने गरेको भएपनि केन्द्रीय बैंकले कटअफ रेटलाई चलाएको छैन । उक्त रेटलाई नचलाउँदा निष्कासन गरेको सबै विकास ऋणपत्र बिक्री नहुने गरेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकहरुले निक्षेपको ब्याज बढाएपछि कर्जाको पनि स्वतः बढ्छ । त्यसैगरी विकास ऋणपत्रमा धेरै ब्याजदर बैंकहरुले नै माग गरिरहेका छन् । तर, ट्रेजरी बिल्समा भने बैंकहरुले केही घटेर लगानी गर्दै आएका छन् । यसले ब्याजदर अस्थीर रहेको स्पष्ट हुन्छ । ब्याजदर अस्थीर रहँदा उद्योग व्यवसयाीहरुलाई समेत नकारात्मक असर गर्ने हुँदा आर्थिक गतिविधि बढ्ने सम्भावना न्यून हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असोज २०८०, बिहीबार १८ : १९ बजे