नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सरकारी पैसाबाट ब्याज आम्दानी गर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्दै आएको छ । राष्ट्र बैंकले अधिक तरलता भएको अवस्थामा पनि निक्षेप संकलन, रिभर्स रिपो वा स्थायी निक्षेप सुविधा प्रयोग गर्न दिनुपर्नेमा त्यस अनुसार अगाडि नबढेको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीति अनुसार ब्याजदर करिडोरको तल्लो सीमा अर्थात निक्षेप संकलन दर ४.५ प्रतिशत भन्दा तल अन्तर बैंकदर आएको खण्डमा तरलता खिच्ने औजार जारी गर्नुपर्ने व्यवस्था छ । तर, पछिल्लो समयमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा १०५ अर्ब तरलता हुँदा समेत तरलता ‘मोप अप’ का औजार जारी गरेको छैन ।
तरलता अवस्था सहज भएको अवस्थामा पनि बैंकहरुले स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न पाउनुपर्ने माग गरे । बैंकहरुको माग अनुसार सरकारले पनि स्थानीय तहको पैसालाई ६० प्रतिशतसम्म निक्षेप गणना गर्न दियो । त्यसले तरलता झनै बढ्न गयो । अधिक तरलता भएपछि अन्तर बैंक दर घटेर २.७६ प्रतिशतसम्म झर्यो ।
अन्तर बैंक दर तल झरेपछि बैंकहरुले निःशुल्क लिएको सरकारी पैसालाई प्रयोग गरेर रिभर्स रिपो, निक्षेप संकलन वा स्थायी निक्षेप सुविधामा मार्फत ब्याज आम्दानी गर्ने योजना बनाए । सो अनुसार तरलता प्रशोचन गर्ने औजाहरु जारी गर्न दबाब दिन थाले । तर, केन्द्रीय बैंकले पनि चलाखी गर्दै विकास ऋणपत्र मात्र निष्कासन गर्यो ।
सरकारलाई आन्तरिक ऋण उठाउन केन्द्रीय बैंकले दीर्घकालिन अवधिको विकास ऋणपत्रलाई मात्र प्राथमिकतामा राख्यो । बैंकहरुले ब्याज आम्दानी गर्न खोजेको बुझेपछि केन्द्रीय बैंकले तरलता प्रशोचनका अन्य उपकरण भन्दा पनि सरकारलाई लागत कम पर्ने गरी विकास ऋणपत्रमा केन्द्रित भयो । हाल केन्द्रीय बैंकले ७ प्रतिशत ब्याजदरमा सरकारलाई विकास ऋणपत्र मार्फत आन्तरिक ऋण उठाइरहेको छ ।
चालु आर्थिक वर्षको असोज ५ गतेसम्ममा केन्द्रीय बैंकले विकास ऋणपत्र मार्फत ९ पटकमा ५९ अर्ब २१ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । केन्द्रीय बैंकले मागे अनुसारको बिक्री नहुँदा पनि विकास ऋणपत्रको निष्कासन जारी राखेको हो । उक्त विकास ऋणपत्रमा केन्द्रीय बैंकले कटअफ रेट पनि ७ प्रतिशतलाई चलाएको छैन । केन्द्रीय बैंकले निष्कासन गरेको विकास ऋणपत्र भन्दा धेरै माग आवेदन आउने भएपनि बढी ब्याजदर माग गरेकालाई बिक्री गरेको छैन ।
बैंकहरुले सरकारी पैसालाई प्रयोग गरेर ब्याज कमाउन खोजेपछि तरलता ‘मोप अप’ गर्ने औजार भन्दा पनि विकास ऋणपत्र मार्फत तरलता खिच्ने जोड दिइएको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “अन्तर बैंकदरलाई हेर्ने हो भने निक्षेप संकलन वा रिभर्स रिपो ल्याउनुपर्ने हो,” ती अधिकारीले भने, “बैंकहरुले सरकारी पैसालाई पनि निक्षेपमा गणना गर्ने व्यवस्था गरेर अधिक तरलता देखाई ब्याज कमाउन खोजेको बुझेर नै निक्षेप संकलन र रिभर्स रिपो जारी नगरेको हो ।”
बैंकहरुको चलाखीलाई केन्द्रीय बैंकले नजिकबाट हेरेको उनको भनाई छ । विगतमा स्थायी तरलता सुविधाको रकमलाई ट्रेजरीमा लगानी गरेर कमाए जस्तै अहिले सरकारी पैसालाई परिचालन गर्न खोजेको बुझेर नै केन्द्रीय बैंकले मौद्रिक व्यवस्थापनका औजार जारी गरेको उनले बताए । ब्याजदर घटाउने भनेर सरकारसँग पैसा लिएका बैंकले त्यसको विपरित ब्याजदर बढाएका छन् । त्यसका साथै निःशुल्क पाएको सरकारी पैसालाई ब्याज आम्दानी हुने गरी केन्द्रीय बैंकमा राख्नु खोज्नु गलत रहेको उनी बताउँछन् ।
असोजको पहिलो सातामा नै केन्द्रीय बैंकले २ पटक विकास ऋणपत्र निष्कासन गरेको छ । यसभन्दा अघि असोज २ गते निष्कासन भएको ९ अर्ब ६४ करोड बरावरको विकास ऋणपत्रमध्ये ६ अर्ब ९५ करोड रुपैयाँ बराबरको बिक्री भएको थियो । यसको ब्याजदर पनि ७ प्रतिशत नै तोकिएको थियो । तर, त्यसका लागि २० अर्ब ३५ करोडको माग आवेदन परेको थियो । असोज ५ गते शुक्रबार भने निष्कासन गरेको १० अर्ब रुपैयाँ बराबरकै बिक्री भएको छ । उक्त १० अर्बका लागि २४ अर्ब ३० करोड रुपैयाँ बराबरको माग आवेदन परेको थियो ।
चालु आर्थिक वर्ष सुरुभएपछि दोस्रो पटक निष्काशित रकम बराबरको विकास ऋणपत्र बिक्री भएको छ । यसभन्दा अघि भदौ २४ गते निष्काशन गरेको सबै बिक्री भएको थियो । बैंकहरुले धेरै ब्याज माग्ने र केन्द्रीय बैंक ब्याज बढाएर बिक्री गर्ने पक्षमा नभएपछि निष्काशन गरेजति बिक्री नहुने गरेको थियो ।
शुक्रबार वित्तीय प्रणालीमा भएको अधिक तरलताका कारण केन्द्रीय बैंकले तोकेको ब्याजदरमा पनि लगानी गर्न बैंकहरु तयार भएका हुन् । बैंकहरुमा तरलता तथा कर्जा लगानी योग्य रकम अधिक छ । कर्जाको माग बढ्न सकेको छैन । कर्जाको माग नबढेपछि बैंकहरुले अल्पकालीन औजारमा लगानी गरेर ब्याज आम्दानी गर्न खोज्दा केन्द्रीय बैंकको चतुर्याँईले दीर्घकालिन ऋणपत्रमा लगानी गर्न बाध्य भएका हुन् । शुक्रबार पनि केन्द्रीय बैंकले विकास ऋणपत्रको ‘कट अफ रेट’ ७ प्रतिशत नै तोकेको छ । सोही रेटमा बैंकहरुले सबै खरिद गरेका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
