राष्ट्र बैंकले १८ अर्ब ७१ करोडको ट्रेजरी बिल नवीकरण गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले १८ अर्ब ७१ करोड २५ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।

राष्ट्र बैंकले असोज ९ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ।

यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

असोज १ गते भएको बोलकबोल अनुसार ९१ दिने ट्रेजरी बिलको औसत भारित ब्याजदर ५.४६९४ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको औसत भारित ब्याजदर ६.०४३२ प्रतिशत र ३६४ दिने भारित औसत ब्याजदर ६.२२१८ प्रतिशत कायम भएको छ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।