वित्तीय व्यवस्थापन र सेवा सुदृढीकरणका लागि एडीबीको १३ अर्ब ऋण

0
Shares

एसियाली विकास बैंक (एडीबी)ले नेपालको वित्तीय व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन १० करोड डलर अर्थात् १३ अर्ब २१ करोड सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।

एडीबीको यस सहयोगले नेपालमा संघीय व्यवस्थाको अभ्यास प्रवद्र्धन गर्नुका साथै संघीय स्तरमा सार्वजनिक वित्तीय व्यवस्थापन सुदृढीकरण र सेवा प्रवाहका लागि दु्रत विकास गर्न सहयोग गर्ने जनाइएको छ । यस्तै प्रादेशिक स्तरमा यस सहयोगले वित्तीय स्रोत कार्यान्वयन र व्यवस्थापनमा मदत गर्नेछ । यस ऋण सम्झौताले सन् २०२५ सम्ममा नेपालको संरचनात्मक वित्तीय व्यवस्थालाई रूपान्तरण गर्ने लक्ष्य एडीबीले लिएको छ ।

यो कार्यक्रमले नेपालको पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न, सार्वजनिक रुपमा सञ्चालनमा आएका व्यवसायहरुको अवस्था सुधार गरी वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने एडीबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले बताएका छन् ।

हाल नेपालमा सार्वजनिक ऋण बढ्दै गइरहेको छ । आयात र निर्यातबीचको खाडल बढिरहँदा व्यापार घाटा आकाशिदै गएको छ । साना तथा मझौला उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । यस समयमा एडिबीको यो सहयोगले संघीय, प्रादेशिक तथा स्थानीय सरकारलाई वित्तीय व्यवस्थापनमा ठूलो सहयोग गर्नेछ ।

एडीबीले वित्तीय व्यवस्थापनका लागि १० करोड डलर ऋण सहयोग प्रदान गर्नुका साथै १५ लाख डलर बराबरको प्राविधिक सहयोग समेत प्रदान गर्ने भएको हो । यो अनुदान नीतिगत कार्यहरूको कार्यान्वयन र संस्थागत सुदृढीकरणका लागि छुट्याइएको छ । विगतका वर्षहरुमा पनि एडीबीले नेपाललाई खर्च र ऋण व्यवस्थापन सुधारका लागि सहयोग गर्दै आएको छ ।

यस कार्यक्रममा वित्तीय व्यवस्थापनलाई समर्थन गर्ने नीति सुधार कार्यक्रम, ऋण व्यवस्थापनको लागि स्पष्ट कानून र रणनीतिको विकास, सार्वजनिक उद्यमको सुधार, ठेक्का व्यवस्थापनमा डिजिटलाइजेसन र तीन तहको सरकारको आय व्ययको डिजिटल रुपमा अभिलेखीकरण समावेश छन् ।

कार्यक्रममा वित्तीय जोखिम र जोखिम व्यवस्थापन सम्बन्धी रणनीतिको अध्ययन, कार्यान्वयन, ऋण व्यवस्थापनमा पारदर्शिता, सार्वजनिक संस्थानहरूको सुशासन र व्यवस्थापनमा सुधार, मध्यावधिक सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिको कार्यान्वयन समेत रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।