व्यापार खस्किँदा ८४ करोडले घट्यो हिमालय सुगर मिल्सको आम्दानी

0
Shares

नेपालमा चिनी उत्पादन क्षेत्रमा प्रख्यात बन्दै गएको हिमालय सुगर मिल्सको सञ्चालन आम्दानीमा भारी गिरावट आएको छ । सल्फर फ्री सुगर उत्पादन गर्ने कम्पनीको एक वर्षको अवधिमा सञ्चालन आम्दानी ६७.७९ प्रतिशत (८४ करोड)ले घटेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २३ करोड ९० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा ३९ करोड ९० लाख सञ्चालन आम्दानी गरेको थियो।

कम्पनीको आम्दानीमा आएको गिरावटसँगै अन्य वित्तीय सूचांक पनि कमजोर देखिएका छन् । कम्पनीको ह्रासकट्टी, परिशोधन, ब्याज, भाडा र कर सहितको नाफा घटेको छ । अघिल्लो आवमा कम्पनीको सो नाफा कुल सञ्चालन आम्दानीको २५.०२ प्रतिशत थियो भने गत आवमा सो नाफा घटेर २०.९१ प्रतिशत पुगेको हो ।

चिनी उत्पादन उखुको उत्पादनमा निर्भर हुने गर्छ । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उखुको उत्पादन घट्दै जाँदा कम्पनीले ग्राहकहरुको अर्डर समयमा पूरा गर्न सकेको छैन । जसकारण कम्पनीको आम्दानीमा भारी गिरावट आएको छ ।

कम्पनीको आम्दानीमा गिरावट आएता पनि नेपालमा चिनीको माग राम्रो रहेको छ । हालसालै सरकारले नेपालमा उत्पादन भएको चिनीको खपत बढाउन आयातीत चिनीमा भन्सार शुल्क बढाएको छ । कृषि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा २ लाख ६० हजार टन चिनी उपभोग हुने गरेको छ । यसरी उत्पादन बढाउन सकेमा कम्पनीको आम्दानी बढ्ने देखिन्छ ।

सन् २०१० मा स्थापना भएको कम्पनीमा एमएस ग्रुप र एसबी ग्रुपको लगानी रहेको छ । कम्पनीका अध्यक्ष सुमित कुमार अग्रवाल हुन् । स्थापनाको समयदेखि नै कम्पनीले सल्फर फ्री सुगरको उत्पादन गर्दै आएको छ । प्रति दिन २ हजार ५०० टन उत्पादन क्षमता रहेको कम्पनीको फ्याक्ट्री सिराहाको चन्द्रयोद्धापुरमा अवस्थित छ ।

कम्पनीले २ अर्ब ४४ करोड ७६ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ९४ करोड ७६ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र १ अर्ब ५० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्ने क्षमता कुल कर्जाको ०.५२ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।