कर्जा लगानी साढे १६ अर्बले घट्दा पनि बैंक वित्तीय संस्थाको नाफा १० अर्ब

0
Shares

चालु आर्थिक वर्षको साउन महीनामा बैंक तथा वित्तीय संस्थाले साढे १६ अर्ब रुपैयाँ कर्जा घट्दा पनि १० अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् ।

आर्थिक गतिविधि सुस्त भएसँगै कर्जाको मागमा सुधार नभएको मात्र नभई पुरानो कर्जा समेत घटेको अवस्थामा पनि बैंक वित्तीय संस्थाले खुद नाफा भने बढाएका हुन् । चालु आर्थिक वर्षको साउन महीनामा बैंक तथा वित्तीय संस्थाले १० अर्ब २२ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा करिब ३ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेका थिए ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा बैंक वित्तीय संस्थाबाट १६ अर्ब ६७ करोड ३० लाख रुपैयाँले कर्जा घटेको छ । गत आर्थिक वर्षको अन्तिममा ४८ खर्ब ७३ अर्ब ८० करोड कर्जा लगानी रहेकोमा चालु आर्थिक वर्षको साउन महिनामा घटेर ४८ खर्ब ५७ अर्ब १३ करोड रुपैयाँमा झरेको छ ।

कोरोना महामारीको असर तथा आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमा विषेश ध्यान दिएका थिए । गत आवमा उच्च ब्याजदर तथा सुस्त आर्थिक गतिविधिका कारण कर्जाको माग बढ्न नसकेको हुनाले कर्जाको ‘डिफल्ट रेट’ पनि बढको थियो । खराब कर्जा कम गर्न बैंकहरुले चालु आर्थिक वर्षको साउनमा पनि असुलीलाई ध्यान दिँदा नाफा बढ्यो भने कर्जा लगानी घटेको हो ।

गत आर्थिक वर्षको साउन महिनामा भने बैंक वित्तीय संस्थाको कर्जा लगानी बढेको थियो । गत आवको साउन महीनामा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९४ करोड ७० लाख रुपैयाँ कर्जा लगानी बढाएका थिए । गत आवको साउन अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा ४७ खर्ब १८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो नाफा लगत आवको सोही अवधिको तुलनामा ५.६७ प्रतिशतले थोरै हो । गत आवको साउन महिनामा वाणिज्य बैंकहरुले मात्रै ९ अर्ब ३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थिए । गत आवको साउन महिनामा सञ्चालनमा रहेका वाणिज्य बैंकको संख्या २६ रहेको थियो भने चालु आवमा उक्त संख्या घटेर २० वटामा झरेको छ ।

त्यसैगरी चालु आवको पहिलो महिनामा सञ्चालनमा रहेका १७ विकास बैंकको खुद नाफा ९४ करोड ८० लाख रुपैयाँ रहेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २६.९० प्रतिशतले धेरै हो । गत अवाको पहिलो महिनामा ती विकास बैंकहरुको खुद नाफा ७४ करोड ७० लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको साउन महीनामा सञ्चालनमा रहेका १७ फानान्स कम्पनीको खुद नाफा ७५ करोड २० लाख रपैयाँ रहेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४०४.६९ प्रतिशतले धेरै हो । गत आवको साउन महिनामा फाइनान्स कम्पनीहरुको १४ करोड ९० लाख रुपैयाँ मात्र खुद नाफा गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।