जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण, नेप्से साढे १८ अंकले बढ्यो

0
Shares

धितोपत्र बजार मंगलबार दोहोरो अंकले वृद्धि हुँदा जलविद्युत कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । कारोबारमा आएका तेह्र उपसमुहगत सूचकमध्ये होटल तथा पर्यटनमुलक सूचक बाहेक सबै बढ्दा जलविद्युत ३.०९ प्रतिशतले बढोत्तरी भएको छ ।

शीर्ष सेयरमूल्य बढेका दश कम्पनीभित्र ६ वटा जलविद्युत कम्पनी रहेका छन् । यसदिन मेन्छियम हाइड्रोपावर, मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर, शुभमम् पावर लिमिटेड, मोलुङ्ग हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र सामलिङ्ग हाइड्रोपावरको सेयरमूल्य बढेको हो । मेन्छियम हाइड्रोपावर, मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर, शुभमम् पावर लिमिटेड, मोलुङ्ग हाइड्रोपावरको सेयरमूल्य दश प्रतिशतले बढेको छ ।

यस्तै घलेम्दी हाइड्रोपावरको ९.६३ र सामलिङ्ग हाइड्रोपावरको ६.९४ प्रतिशतले मूल्य बढेको छ । स्वाभिमान लघुवित्तको ९.९३ प्रतिशत, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड—१को इकाई मूल्य ७.९६, नबिल ब्यालेन्स्ड फन्ड—३ को इकाई मूल्य ७.१४ र सबैको लघुवित्तको ६.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

हिमालयन लघुवित्तको सेयर मूल्य मंगलबार सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ । थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य पनि ५.५७ प्रतिशतले घटेको छ । लक्ष्मी भ्यालु फन्ड–२ को ३.८० प्रतिशत, गणपति लघुवित्त ३.११ प्रतिशत र आशा लघुवित्त २.८४ प्रतिशतले घटेको छ ।

आज नेप्से परिसूचक १८.४५ अङ्कले बढेर २०२२ दशमलव ९१ अङ्कमा कायम भएको छ । आज २८६ कम्पनीको ८७ लाख ४६ हजार ४७७ कित्ता सेयर ७८ हजार ६१६ पटक खरिद बिक्री हुँदा २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५१८ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो सोमबार नेप्से परिसूचक ५.८९ अङ्कले घटेर १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७२ रुपैयाँ बराबरको धितोपत्र खरिद बिक्री भएको थियो ।
कारोबारमा आएका तेह्र उपसमुहगत सूचकमध्ये होटल तथा पर्यटनमुलक ०.१८ प्रतिशतले घटेको बजारमा जलविद्युत ३.०९ प्रतिशतले बढेको छ । यस्तै जीवनबीमा, विकास बैंक, लगानी र लघुवित्तको इन्डेक्स १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ८ करोड ३४ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस्तै सन नेपाल लाइफको ७ करोड ५३ लाख ६२ हजार, रिलायबल नेपाल लाइफको ७ करोड १३ लाख ४८ हजार, शिवम् सिमेन्टको ६ करोड ९८ करोड १४ हजार रुपैयाँ र हिमाल दोलखा हाइड्रोपावरको ५ करोड ७१ लाख १८ हजार रुपैयाँको धितोपत्र कारोबार भएको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ४ लाख १४ हजार ८५० कित्ता सेयर किनबेच भएको छ । संख्याका आधारमा शीर्ष स्थानमा रहेको सन नेपाल लाइफको ९ हजार ९६७ वटा रहेको छ । सोमबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ६६ अर्ब ९० करोड २१ लाख रुपैयाँमा समेटिएको छ । आइतबार ३० खर्ब ३८ अर्ब ९२ करोड ८५ लाख रुपैयाँ थियो । मंगलबार मात्रै २७ खर्ब ९७ करोड रुपैयाँले बजार पुँजीकरण बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।