अन्जन श्रेष्ठको सिद्धीलक्ष्मी स्टील्सको आम्दानीमा भारी गिरावट

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष–अन्जन श्रेष्ठ र उनको व्यापारिक घराना लक्ष्मी ग्रुपको लगानी रहेको सिद्धिलक्ष्मी स्टील्स प्रालिको आम्दानीमा भारी गिरावट आएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ७ करोड ६४ लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आर्थिक वर्ष २०७९/८० मा ५१.५८ प्रतिशतले घटेर १ अर्ब ९७ करोड ३६ लाख पुगेको हो ।

कम्पनीको आम्दानीमा आएको गिरावटसँगै अन्य वित्तीय सूचांकमा समेत गिरावट आएको छ । कम्पनीको ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको नाफा अघिल्लो आवमा कुल सञ्चालन आम्दानीको २.२ प्रतिशत थियो भने गत आवमा कम्पनीको सो नाफा ऋणात्मक रहेको छ ।

सुरुवाती वर्षमा नै आव २०७६/७७ मा १ खर्ब २५ करोड ५९ लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी वार्षिक रुपमा बढ्दै गएको थियो । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ३ अर्ब ६३ करोड १६ लाख र आव २०७८/७९ मा ४ अर्ब ७ करोड ६४ लाख सञ्चालन आम्दानी गरेता पनि आर्थिक वर्ष २०७९/८० मा कम्पनीको आम्दानीमा गिरावट आएको छ ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले सन् २०१९ बाट उत्पादन सुरु गरेको थियो । कम्पनीले टिएमटी छड, काँटी, बाइन्डीङ वायर, टोरकारीको उत्पादन गर्दै आएको छ । कम्पनीको कुल आम्दानी मध्ये ९५ प्रतिशत आम्दानी टिएमटी छडको बिक्री वितरणबाट हुने गरेको छ । कम्पनीले समृद्धि स्टील्सको नामबाट स्टील उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले ३ अर्ब १८ करोड ६० लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । ९३ करोड ६० लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रानेपालले बी प्लस र २ अर्ब २५ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता ऋणात्मक रहेको छ । कम्पनीको आम्दानीमा आएको गिरावटलाई ध्यानमा राख्दै एजेन्सीले रेटिङ समेत घटाएको छ । यस अघि डबल बी माइन्स रेटिङ गरेको एजेन्सीले रेटिङ घटुवा गरी बी प्लस दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।