अधिकांश मुलुकको अर्थतन्त्र खुम्चिँदा ३८% को वृद्धि हासिल गर्दै गुयाना

0
Shares

विश्वव्यापी रुपमा आर्थिक मन्दी छाएको समयमा विश्वका विकसीत मुलुक, उदीयमान मुलुकका साथै विकासोन्मुख मुलुकको आर्थिक वृद्धि दर घट्दै गएको छ। तथापि विषम परिस्थितिका बावजुद दक्षिण अमेरिकाको गुयाना राष्ट्रको आर्थिक वृद्धि दर सन् २०२३ मा ३८ प्रतिशत हुने अनुमान अन्तराष्ट्रिय मुद्रा कोष –आइएमएफ) को छ । यस अघि सन् २०२२ मा गुयानाको आर्थिक वृद्धि दर ६२.३ प्रतिशत थियो ।

गुयानामा हीरा, सुन लगायतका मूल्यवानु धातुहरुको खानीहरु रहेका छन् । जसको निर्यात गरी गुयानाले राम्रो वैदेशिक मुद्रा आर्जन गरिरहेको छ । त्यति मात्रै नभई गुयानामा मलिला फाँट समेत रहेका छन् जहाँको कृषि उत्पाकत्व उच्च छ । यस्तै उक्त दक्षिण अमेरिकी राष्ट्रमा पेट्रोलियम पदार्थको समेत उत्पादन तथा निर्यात गर्दै आएको छ । यसरी २ लाख १५ हजार वर्ग किलोमिटर सीमा भएको गुयानाको आर्थिक वृद्धि दर विश्वका अधिकांश उदीयमान राष्ट्रहरुलाई उछुन्दै शीर्ष स्थानमा पुगेको छ।

दक्षिण अमेरिकाको तेस्रो सानो राष्ट्र मानिने गुयानामा कुल ८ लाख मानिसहरु बसोबास गर्छन् । देश भित्र उत्पादन गरेको खाद्यान्न पर्याप्त हुँदा उनीहरुले खाद्यान्न कै बिक्री गरी राम्रो आम्दानी गरिरहेका छन् । यस्तै विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थको अभाव हुँदा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । विश्वका अधिकांश देशहरुलाई समस्या बनेको पेट्रोलियम पदार्थको मूल्यवृदि गुयानाका लागि वरदान साबित भएको छ । अरुबेला सामान्य मूल्यमा बिक्री वितरण भइरहेको पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्य बढ्दा अहिले कृषक तथा माइनर सबैले राम्रो नाफा आर्जन गरिरहेका छन् ।

अन्तराष्ट्रिय मुद्रा कोषले गुयानाले आगामी पाँच वर्षमा १०० प्रतिशत विन्दु भन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । आइएमएफको तथ्यांकसँग सहमत हुँदै अमेरिकी अनुसन्धान संस्थान फिच सोलुसन्सले समेत आगामी ५ वर्ष अर्थात् २०२८ सम्ममा गुयानाको आर्थिक वृद्धि ११५ प्रतिशत विन्दुले बढ्ने आकलन गरेको छ ।

तथापि गुयानाको आर्थिक वृद्धि दर हालको विषम विश्व परिस्थितिको देन हो । विश्वका अधिकांश राष्ट्रहरु पेट्रोलियम पदार्थको प्रयोगलाई विद्युतको प्रयोगले विस्थापित गर्दै गएका छन् । साथै रुस–युक्रेन युद्ध समाप्त भएमा पेट्रोलियम पदार्थको मूल्य हालको तुलनामा घट्नेछ । जसको प्रभाव गुयानाले गरिरहेको पेट्रोलियम पदार्थको निर्यातमा समेत पर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।