मंगलम ग्रुपले ३ अर्ब ऋण लिएर नेपालमै टाइल्स उद्योग खोल्दै

0
Shares

मंगलम ग्रुपले नेपालमै टाइल्स उत्पादन गर्ने भएको छ । लुम्बिनी सेरामिक्स स्थापनाका लागि कम्पनीले ३ अर्ब ऋण लिने भएको हो ।

सन् २०२४ देखि टाइल्स उत्पादन गर्नेे लक्ष्यका साथ कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपालबाट लुम्बिनी सेरामिक्सको साख मूल्याकंन गराएको छ । इक्रा नेपालले २ करोड ५० लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ६८ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

लुम्बिनी सेरामिक्सले वाल टाइल्स र ग्लेज्ड भित्रिफाइड टाइल्सहरुको उत्पादन गर्नेछ । कम्पनीले वार्षिक ४ करोड १० लाख वर्ग फीट टाइल्स उत्पादन गर्ने उद्देश्य राखेको छ । सन् २०२३ को जुलाई महिनासम्ममा कम्पनीले १४ प्रतिशत कार्य सम्पन्न गरेको छ । सन् २०२४ मा सञ्चालन आउने लक्ष्य लिएको कम्पनीले लक्षित समयमा उत्पादन सुरु गर्न नसकेमा कम्पनीको वित्तीय भार बढ्दै जानेछ ।

हाल कम्पनी शुभरत धितालको नेतृत्वमा सञ्चालनमा रहेको छ । उनी कम्पनीका अध्यक्ष हुन् । सर्वाधिक ३१ प्रतिशत हिस्सा उनकै रहेको छ । श्याम सुन्दर खेतान, आसुतोष खेतान, शशी चुरीवाल र शिनी खेतानको प्रतिब्यक्ति १५.९ प्रतिशत सेयर हिस्सा रहेको छ ।

पछिल्लो समयमा मानिसहरुको सौन्दर्य चेतको विकास भएसँगै बजारमा विभिन्न किसिमका टाइल्सको माग बढ्दै गएको छ । बजारको माग बढ्दै जाँदा टाइल्स उत्पादक कम्पनीहरुको सङ्ख्या पनि बढ्दै गएको छ ।

नेपालमा टाइल्स उत्पादन गर्ने कम्पनीहरु २० वटा छन् । यी कम्पनीहरुमा कुल १३ अर्ब लगानी गरिएको छ । सन् २०२४ देखि उत्पादन सुरु गर्ने लक्ष्य लिएको लुम्बिनी सेरामिक्स कम्पनीले अन्य २० कम्पनीहरुसँग प्रतिस्पर्धा गरी आफूलाई स्थापित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।