अर्थमन्त्रीको आश्वासनले थामियो सेयर बजारको पहिरो

0
Shares

पछिल्ला दुई कारबोर दिन उच्च अंकले ओरालो लागेको सेयर बजारमा सोमबार सामान्य सुधार आएको छ । सेयर बजार सुधारका लागि केही निर्णय चाँडै आउने अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारको पहिरो थामिएको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजार सुधारका लागि केही निर्णयहरु चाँडै आउने बताएपछि बजारमा सुधार आएको हो । अर्थमन्त्री महतले सेयर बजार रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको भन्दै यसको समाधान हुँदै जाने बताएका थिए ।

सोमबार पनि बजार खुलेको सुरुवाति समयमा नेप्सेमा गिरावट देखिएको थियो । तर बजार बन्द हुने समयसम्म आइपुग्दा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ५.१९ अंक बढेर १९७६.२९ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम सामान्य घटेको छ। यस दिन २८६ स्टकको ८५ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको छ।

सोमबार सिवाईसी लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। पिपुल्स हाइड्रोपावर र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २१ करोड ६८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण शेयर कारोबार बढेको हो। त्यसैगरी, यस दिन सिटिजन लाइफ इन्स्योरेन्सको करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।