मन्दीमा पनि जगदम्बा स्टील्सले गर्यो ४० अर्बको कारोबार, आम्दानी २०% ले घट्यो

0
Shares

अर्थतन्त्रमा देखिएको मन्दीको प्रभावले निर्माण क्षेत्रमा व्यवसायीहरु समेत समस्यामा परेका छन् । मन्दीको दबाब मूलतः स्टील र सिमेन्ट उद्योगहरुमा देखिएको छ ।

आर्थिक मन्दीकै चपेटामा परेका स्टील उद्योगहरुको आम्दानी घट्दो क्रममा छ । सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख सञ्चालन आम्दानी गरेको जगदम्बा स्टीलको सञ्चालन आम्दानी सन् २०२३ मा १९.२२ प्रतिशतले घटेर ४० अर्ब १७ करोड २० लाख पुगेको हो ।

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा रहेको जगदम्बा स्टील्सको आम्दानी सन् २०२० देखि सन् २०२२ सम्म निरन्तर उकालो लागेको थियो । कोभिड–१९का कारण अधिकांश व्यवसाय धरासायी हुँदा समेत नाफा आर्जन गरेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२३ मा घटेको हो ।

सन् २०२१ मा कम्पनीले २९ अर्ब ५५ करोड ७० लाख सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको आम्दानीको ग्राफ सन् २०२२ मा बढेर २९ अर्बबाट ४९ अर्ब पुगेको थियो । तथापि सन् २०२३ मा कम्पनीको सञ्चालन आम्दानी घटेको छ । सञ्चालन आम्दानीमा आएको गिरावटसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा समेत गिरावट आएको छ ।

सन् १९९३ मा स्थापना भएको कम्पनीले टीएमटी छड, पाइप, सटर प्रोफाइल, पाइप, कोइल्स, सीट्स, एङ्ग्ल्स लगायतका विभिन्न सामाग्रीहरुको उत्पादन गर्दै आएको छ । कम्पनीले ‘जगदम्बा इ’, ‘राइनो ५००डी’, ‘जगदम्बा सुपर साइन’, ‘जगदम्बा ग्याल्बा प्लस’, ’जगदम्बा पाइप’ र ‘जगदम्बा वायर’ ब्रान्डनामबाट सामाग्रीहरुको बिक्री वितरण गर्छ ।

कम्पनीमा शङ्कर ग्रुपको लगानी रहेको छ । शाहिल अग्रवाल कम्पनीका अध्यक्ष हुन्। उनी शङ्कर ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका छन् । कम्पनीले ३५ अर्ब १४ करोड २७ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । १२ अर्ब ५८ करोड बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले त्रिपल बी र २७ अर्ब ६ करोड बराबरको अल्पकालीन कर्जाको लागि ए३ प्लस रेटिङ गरेको छ । एजेन्सीले कम्पनीलाई ट्रिपल बी रेटिङ दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।