तीन करोड गैरकानूनी सम्पत्ति आर्जन गर्ने इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड भन्दा बढि गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा एक इन्जिनियरविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ साल असार ३० गतेदेखि २०७९ साल कात्तिक ६ गतेसम्मको समग्र आय तथा व्ययबारे आयोगले अनुसन्धान गरेको थियो । जसमा ३ करोड १५ लाख ८१ हजार ६६ रूपैंया ८० पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगको दाबी छ ।

उनले र उनको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण गरेको पाइएको अख्तियारले जनाएको छ । साथै उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिएको छ ।

रानाभाटले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजलाई विगो ३ करोड १५ लाख ८१ हजार ६६ रूपैंया ८० पैसा विगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गेरेको हो।

यस्तै अख्तियारले विगो बमोजिम जरीवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्ति जफत÷असुल उपर गर्नु पर्ने माग गरेको छ ।

साथै राम बहादुर रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरु खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च लागत मूल्य वरावरको भागको सम्पत्ति विगो जफत गर्ने उनकोे नाममा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।