
बैंक तथा वित्तीय संस्थाले दबाब परीक्षण (स्ट्रेस टेष्ट) गर्दा सबै क्षेत्रगत कर्जालाई समावेश गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले स्ट्रेस टेष्ट गाइडलाईन परिवर्तन गर्दै संस्थाको अवस्थाको विश्लेषण गर्दा समावेश गर्नुपर्ने नयाँ क्षेत्रहरु पनि तोकेको हो ।
केन्द्रीय बैंकले स्ट्रेस टेस्टिङ गाइडलाईन २०१२ लाई खारेज गर्दै २०२३ जारी गरेको छ । नयाँ गाइडलाईन अनुसार बैंक तथा व्त्तिीय संस्थाले स्ट्रेस टेस्ट गर्दा रियल स्टेट क्षेत्रको कर्जा मात्र नभई कृषि, उद्योग, ब्यापार, उर्जा लगायतका क्षेत्रगत कर्जालाई पनि समावेश गर्नुपर्ने व्यवस्था गरेको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
“सन् २०१२ को स्ट्रेस टेस्टमा केही परिवर्तन गरेर २०२३ ल्याएको हो,” ती अधिकारीले भने, “यसभन्दा अघि सञ्चालन जोखिमको पक्षलाई दबाब परीक्षण गर्दा समावेश गरएिको थिएन । तर, नयाँ गाइडलाईनले सञ्चालन जोखिमसँग सम्बन्धित साइबर सेक्यूरीटीलाई पनि समावेश गरीएको छ ।” त्यसैगरी नयाँ गाइडलाईनले ‘अफ ब्यालेन्सिट एक्सपोजर’ लाई पनि समावेश गरेको उनले बताए । उनका अनुसार संस्थाको दबाब परीक्षण गर्दा प्रतितपत्रलाई पनि एउटा अंक मानेर विश्लेषण गर्नुपर्छ । त्यसैगरी नयाँ व्यवस्था अनुसार बैंक ग्यारेन्टीबाट जाने फोर्स लोनलाई पनि समावेश गर्नुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाले जोखिम बहन गर्नसक्ने संस्थागत क्षमताको मूल्यङ्कन गर्दा रिभर्स स्ट्रेस टेस्ट पनि गर्नुपर्ने हुन्छ । त्यसमा नियामकीय मापदण्डलाई हेरेर क्यापिटल एडिक्वसी र निष्क्रिय कर्जाको दृषिकोणबाट यस्तो टेस्ट गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले आन्तरिक र बाह्य क्षेत्रमा आउने जोखिमलाई थेग्नसक्ने अवस्था कस्तो छ भन्ने मुल्याङ्कनलाई स्ट्रेस टेष्ट भनेर बुझ्न सकिन्छ ।
केन्द्रीय बैंकका अनुसार वर्तमानमा भन्दा फरक आर्थिक एवं वित्तीय अवस्थाको परिकल्पना गर्दा बैंक वा वित्तीय संस्थाको वित्तीय सूचकहरुमा पर्ने दबाब वा परिवर्तनको अध्ययन नै दबाब परीक्षण हो । आन्तरिक तथा वाहृय कारणले अर्थतन्त्रमा आउन सक्ने उतार चढावले कुनै पनि बैंक वा वित्तीय संस्थाको पुँजी, तरलता तथा आम्दानीमा पर्नसक्ने प्रभाव अध्ययनका लागि दबाब परीक्षण गरिन्छ ।
बैंक तथा वित्तीय संस्थाले मार्गदर्शन बमोजिम नियमित रुपमा दबाब परीक्षण गर्नुपर्छ । सम्बन्धित संस्थाले त्रयमास वित्तीय विवरणका आधारमा दबाब परीक्षण गरी त्यस्तो परीक्षणको परिणामबारे सञ्चालक समिति तथा उच्च व्यवस्थापनमा छलफल गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । दबाब परीक्षणसँग सम्बन्धित तथ्याङ्क एवम् परिणाम हरेक त्रयमास वितेको ३० दिनभित्र सम्बन्धित सुपरिवेक्षण विभागको गैर–स्थलगत इकाईमा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीले नियमित रुपमा दबाब परीक्षण गरी सोको परिणाम उपर छलफल गर्नुपर्छ । संस्थाले सोही टेष्टका आधारमा भविष्यमा अपनाउनुपर्ने आवश्यक नीति निर्माण वा निर्णय प्रक्रियाका लागि सञ्चालक समितिमा सुझाव पेश गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहु
