चिनियाँ अर्थतन्त्रमा समस्या बढ्दै, धनाढ्यहरु सुटुक्क लैजाँदैछन् आफ्नो सम्पत्ति बाहिर

चिनियाँ अर्थतन्त्रमा समस्या बढ्दै, धनाढ्यहरु सुटुक्क लैजाँदैछन् आफ्नो सम्पत्ति बाहिर

रियल स्टेट क्षेत्रमा देखिएको मन्दीका कारण हाल चिनियाँ अर्थतन्त्रमा समस्या बढ्दै गएको छ । अर्थतन्त्र थप अनिश्चितता उन्मुख भएपछि चीनका धनाढ्य व्यक्तिहरुले अवैधानिक माध्यमको प्रयोग गरी बाह्य देशहरुमा लगानी विस्तार गरेको ब्लुमबर्गको ठहर छ ।

ब्लुमबर्गको प्रतिवेदनमा चिनियाँ नागरिकहरुले अनौपचारिक बैंकिङ माध्यम ‘हवाला’को प्रयोग गरी अर्बौं रकम बाहिर पठाएको उल्लेख छ । हाल रियल स्टेट क्षेत्रमा देखिएको निराशाका कारण चिनियाँ नागरिकहरु लगानी डुब्ने त्रासमा रहेका छन् । चिनियाँ अर्थतन्त्रमा रियल स्टेटको हिस्सा कुल ग्रास्थ उत्पादनको एक तिहाइ रहेको छ । इभरग्रान्डे, काउनटी गार्डेन लगायतका ठूला कम्पनीहरु धरासायी बन्दै जाँदा लगानीकर्ता थप निराश बन्दै गएका छन् । जसकारण चिनियाँ नागरिकहरुले आफ्नो लगानी सुरक्षित गर्नका लागि बाहिर लगानी गरिरहेका छन् ।

आफ्नो लगानी सुरक्षित गर्न मात्रै नभई चिनियाँ नागरिकहरुले भविष्यमा बाहिरी देशमा नै बसोबास गर्ने उद्देश्यका साथ बाहिरी देशहरुमा लगानी विस्तार गरिरहेका छन् । ब्लुमबर्गका अनुसार औपचारिक माध्यमको प्रयोग गरी चिनियाँ नागरिकहरुले वार्षिक रुपमा ५० हजार डलर बाहिरी देशमा लगानी गर्न पाउने प्रावधान छ ।

तथापि सन् २०२१ मा चीनबाट ७५ अर्ब युवान चीन बाहिरका पाँच संस्था र आठ हजार बढी बैंकहरुमा जम्मा गरिएको तथ्य बाहिर आएको छ । चीनमा अनौपचारिक माध्यममार्फत बाह्य देशहरुमा लगानी विस्तार गर्ने अन्डरग्राउन्ड बैंकहरुमा अर्बौं अर्ब रकम जम्मा भएको बेलायतको नेशनल क्राइम एजेन्सीले जनाएको छ ।

चीनमा अनौपचारिक माध्यम मार्फत कारोबार गर्ने मानिसहरुलाई कारोबार रकमको ३० प्रतिशत बढी जरिवाना र कारोबारको रकम हेरी जेल सजाय हुने प्रावधान छ । नियमहरु कडाइ मार्फत लागु गरेतापनि मानिसहरुले बाहिरी देशहरुमा लगानी विस्तार गरिरहेका छन् ।

युनियन बैंक अफ स्वीजरल्यान्ड (युबीएस)ले सार्वजनिक गरेको तथ्यांक अनुसार ६२ लाख चिनियाँ नागरिकहरुले पछिल्लो एक वर्षमा प्रति व्यक्ति १० लाख अमेरिकी डलरभन्दा धेरै रकम देशबाहिर पठाएका छन् ।

यसरी विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा समेत लगानीकर्ताहरुले आफ्नो जम्मापुँजी तथा लगानीको सुरक्षा प्रत्याभूत गर्न नसक्दा अबौँ रुपैयाँ चीनबाट वर्षेनी बाहिरीरहेको छ । सन् २०२२ मा चीनबाट १५० अर्ब डलर बाहिरीने ब्लुमबर्गको अनुमान छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ असोज २०८०, बिहीबार १८ : १३ बजे