घोराहीको गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक, खुद नाफा घट्यो


घोराही सिमेन्ट्स इन्डिष्ट्री लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुबै घटेको छ ।

जसमा कम्पनीको नाफा ५ करोड ३४ लाख रुपैयाँ मात्रै छ । जबकी कम्पनीले ४६ करोड ३८ लाख रुपैयाँ खुद नाफाको प्रक्षेपण गरेको थियो । विवरण अनुसार अघिल्लो वर्षभन्दा नाफा ७५ प्रतिशत घटेको हो । पोहोर असारसम्म २१ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको कारोबारमा भने भारी गिरावट देखिँदैन । ४ अर्ब ६२ करोडको सिमेन्ट बिक्री भएको कम्पनीले जनाएको छ। पोहोर ४ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको थियो । ब्याज खर्च ह्वात्तै बढेकाले नाफा केही प्रभावित भएको देखिन्छ। १४ प्रतिशतले कम्पनीको ब्याज भुक्तानी बापतको रकम बढेको छ ।

गत आर्थिक वर्ष घोराहीले ४४ करोड ५४ लाख रुपैयाँ ब्याज तिरेको थियो। अघिल्लो वर्ष ३९ करोड तिरेको थियो । यसबीच कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अवितरित नाफा ३ अर्ब ९९ करोड र जगेडामा ७ करोड ९० लाख रुपैयाँ छ । प्रिमियम बापत उठाएको २ अर्ब ६५ करोड रकम भने सेयर प्रिमियममा राखिएको छ।

गत आर्थिक वर्षसम्म कम्पनीको प्रति सेयर आम्दानी १.३४ रुपैयाँ र प्रति सेयर नेटवर्थ २६९.५३ रुपैयाँ कायम छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।