विकास बैंकको नाफा ३ प्रतिशतले घट्यो, दुई महीनाको नाफा १ अर्ब १४ करोड

0
Shares

चालु आर्थिक वर्षको दुई महीनामा विकास बैंकहरुको कुल नाफा ३ प्रतिशतले घटेको छ । भदौ महीनासम्ममा विकास बैंकहरुले १ अर्ब १४ करोड ५२ लाख ८२ हजार नाफा आर्जन गरेका हुन् । गत आवको सोही अवधिमा विकास बैंकहरुको कुल नाफा १ अर्ब १८ करोड ७ लाख ३८ हजार रुपैयाँ थियो ।

सञ्चालनमा रहेका १७ मध्ये ९ वटा विकास बैंकको नाफा बढेको छ भने ८ वटा बैंकको घटेको छ । समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक,कर्णाली विकास बैंक, सालपा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको नाफा बढेको छ । समीक्षा अवधिमा सप्तकोशी डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंकको नाफा गत आवको भदौको तुलनामा घटेको हो ।

कुल १७ विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा आर्जन गरेको छ । चालु आवको भदौसम्ममा मुक्तिनाथ विकास बैंकले ३१ करोड २८ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा बैंकले २९ करोड ३० लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको नाफा ६.७५ प्रतिशत बिन्दुले बढेको हो ।

यस्तै दोस्रो धेरै नाफा आर्जन गर्ने बैंकमा गरिमा विकास बैंक रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिसम्ममा गरिमाले १६ करोड ५५ लाख १० हजार रुपैयाँ नाफा गरेको हो । तथापि सो नाफा गत आवको भदौ महिनासम्म आर्जित नाफाको ०.९४ प्रतिशत विन्दुले कम हो । गत भदौसम्म बैंकले १६ करोड ७० लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Name Profit in Million (2080 Bhadra) (Rs.) Profit in Million (2079 Bhadra) (Rs.) Change %
Muktinath 312.824 293.052 6.75
Garima 165.510 167.083 -0.94
LumbiniDB 156.752 82.508 89.98
Kamana Sewa 139.173 125.812 10.62
Shangrila 120.401 107.989 11.49
Shine Resunga 117.186 162.043 -27.68
Mahalaxmi 114.570 117.114 -2.17
Jyoti 109.466 135.796 -19.39
Karnali 46.880 2.681 1648.87
Sindhu 27.436 -1.885 -1555.51
Corporate 26.636 4.382 507.91
GreenDB 10.323 16.038 -35.64
Salapa 4.006 0.600 568.05
Miteri -6.403 11.861 -153.98
Narayani -7.650 -8.780 -12.87
Saptakoshi -16.740 4.974 -436.56
Excel -175.089 -40.528 332.02
Total  1145.282 1180.738 -3.00

यसैगरी दश करोड भन्दा धेरै नाफा आर्जन गर्ने बैंकहरुमा लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंक रहेका छन् ।

लुम्बिनी विकास बैंकले चालु आवको भदौ महिनासम्ममा १५ करोड ६७ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ८ करोड २५ लाख ८ हजार रुपैयाँ नाफा गरेको बैंकको नाफा चालु आवको भदौसम्ममा ८९.९८ प्रतिशत विन्दुले बढेको हो । यस्तै कामना सेवा विकास बैंकको नाफा गत आवको भदौ महिनाको तुलनामा १०.६२ प्रतिशत विन्दुले बढेको छ । गत भदौसम्म १२ करोड ५८ लाख १२ हजार नाफा कमाएको बैंकले चालु आवको भदौसम्ममा १३ करोड ९१ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको भदौमा १२ करोड ४ लाख नाफा आर्जन गरेको छ । यससँगै बैंकको नाफा ११.४९ प्रतिशत विन्दुले बढेको हो । गत आवको भदौसम्म बैंकले १० करोड ७९ लाख ८९ हजार नाफा कमाएको थियो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको भदौसम्मको नाफा ११ करोड ७१ लाख ८६ हजार रुपैयाँ छ । गत आवको दुई महीना अवधिमा शाइनले १६ करोड २० लाख ४३ हजार रुपैयाँ नाफा गरेको थियो । बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा २७.६८ प्रतिशत बिन्दुले घटेको हो ।

यस्तै चालु आवको भदौसम्म महालक्ष्मी विकास बैंकको कुल नाफा २.१७ प्रतिशतले घटेर ११ करोड ४५ लाख ७० हजार रुपैयाँ खुम्चिएको छ । गत आवको भदौमा महालक्ष्मी बैंकको नाफा ११ करोड ७१ लाख १४ हजार रुपैयाँ थियो । ज्योति विकास बैंकको नाफामा समेत १९.३९ प्रतिशत गिरावट आएको छ । बैंकको भदौसम्म नाफा १० करोड ९४ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको भदौसम्म ज्योतिले १३ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक गरी कुल चार विकास बैंकले एकदेखि ४ करोडसम्म नाफा कमाएका छन् । गत आवको भदौसम्म २ करोड ६८ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेको कर्णाली डेभलपमेन्ट बैंकले चालु आवको भदौसम्म ४ करोड ६८ लाख ८० हजार रुपैयाँ नाफा गरेको छ । यस्तै गत आवको भदौ महिनामा १८ लाख ८५ हजार घाटामा रहेको सिन्धु विकास बैंकले चालु आवको भदौ महिनासम्म भने २ करोड ७४ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ । गत भदौसम्म ४३ लाख ८२ हजार नाफा गरेको कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आवको भदौसम्ममा २ करोड ६६ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ । ग्रीन डेभलपमेन्ट बैंकको नाफा चालु आवको भदौसम्म ३५.६४ प्रतिशतले घटेर १ करोड ३ लाख २३ हजारमा खुम्चिएको छ । गत भदौसम्म बैंकको नाफा १ करोड ६० लाख ३८ हजार रुपैयाँ थियो ।

राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार सालपा विकास बैंकले भदौसम्ममा ४० लाख ६ हजार नाफा गरेको छ । गत भदौमा ६ लाख नाफा गरेको बैंकको नाफा समीक्षा अवधि सम्ममा ५६८ प्रतिशतले बढेको हो ।  सप्तकोशी विकास बैंकको नाफामा पनि ४३६ प्रतिशतको उच्च गिरावट आएको छ । चालु आवको भदौसम्ममा बैंकले घाटा १ करोड ६७ लाख ४० हजार पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ४९ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा मितेरी, नारायणी र एक्सेल डेभलपमेन्ट बैंकले घाटा ब्यहोरेका छन् । भदौसम्म मितेरी डेभलपमेन्ट बैंकको घाटा ६४ लाख ३ हजार, नारायणीको ७६ लाख ५० हजार र एक्सेल डेभलपमेन्ट बैंकको घाटा १७ करोड ५० लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आवको भदौसम्म मितेरीले १ करोड १८ लाख ६१ हजार नाफा कमाउँदा नारायणीको नोक्सानी ८७ लाख ८० हजार तथा एक्सेल डेभलपमेन्ट बैंकको घाटा ४ करोड ५ लाख २८ हजार रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।