बराहपोखरीको खसी बेचेर किसानले कमाए एक करोड ७५ लाख


दसैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख रुपैयाँ बढीको खसी काठमाडौँ निर्यात भएको छ । खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसी काठमाडौँ पुर्याएका छन् ।

एउटा खसीको सरदर मूल्य २० हजार मान्दा एक करोड ७५ लाख रुपेयाँभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिएका छन् । खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर–घरमा पुगेका थिए ।

दसैँतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले पाँच–छ लाख रुपेयाँसम्म हात पारेका छन् । कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरुले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्याएका थिए ।

कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौँ पुर्याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिएको छ । कतिपय किसानले आफैँ उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दसैँतिहारका अवसरमा करोडौँ मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी सङ्घ खोटाङले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।