दशैं खुसी र उमङ्गको चाड । लामो समयपछि आफन्तजन भेटघाट हुँदा विशेषत रमाइलो गर्ने र अरु समयमा भन्दा अलिक बढी खानपिन गरिन्छ । पारिवारिक भेट तथा आफन्तजनसँग भेट्दा मन हर्षित हुन्छ, यसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर दशैंको उत्साहमा हामीले स्वास्थ्यमा त्यति ख्याल राख्दैनौँ । जसकारण तत्कालका लागि केही नभएपनि भावी समयमा त्यसको प्रभाव नकरात्मक पर्न सक्छ ।
विशेषतः दशैंमा मासुको विभिन्न परिकारहरु मज्जाले खाइन्छ । मासुसँगै मदिरा पनि प्रयोग गरिन्छ । यसरी दशैंमा आफ्नो स्वास्थ्यको प्रवाह नगरी धेरै मासुखाने, दीर्घरोगीहरुले आफ्नो अवस्थाको ख्याल नगरी जथाभावी रुपमा मासुजन्य परिकारहरु खाँदा त्यसले स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ ।
दशैंले उत्साह बोकेर आउँछ तर त्यही समयमा बिरामी हुँदा, बिरामीले आफ्नो मात्रै होइन, सम्पूर्ण परिवारकै उत्साह लिएर जान्छ । तसर्थ दशैंमा खानपिनमा विशेष ख्याल गर्नुपर्छ । तल उल्लेख गरेका कुराहरुमा विशेष ध्यान दिएमा दशैं स्वस्थ रुपमा रमाइलो गरी मनाउन सकिन्छ ।
कम मसलादार खानेकुरा खानुहोस् :
दसैँमा अधिकांशको भान्छामा मासुको परिकार पाक्छ । यसरी वर्षदिनमा घुमीफिरी आएको चाडमा चट्ट मसला हालेर पकाउने चलन छ । तर यसो गर्दा हाम्रो शरीरलाई बेफाइदा हुनसक्छ । तसर्थ मासु पकाउँदा मसला कम प्रयोग गर्नुपर्छ । मासुमा चिल्लो धेरै हुने भएकाले थोरै मात्रा चिल्लो राखी खानुपर्छ ।

हरियो तरकारी खानुहोस् :
दशैंमा अधिकांशको भान्छामा लामो समयसम्म मासु नै पाक्छ । कतिपयले घटस्थापनको दिनदेखि र कतिपयले फुलपातीको दिनदेखि खसीबोला, च्याङ्ग्रा काट्ने र बिहानसाँझ नै मासु खाने गर्छन् । यसरी अन्य समयको तुलनामा मासु बिहानसाँझ खाँदा कोलेस्टेरोल बढ्न सक्छ । तसर्थ मासुसँगै हरियो सागपात तथा हरियो तरकारी, फलफुल पनि खानुपर्छ । यसले पाचन प्रक्रियामा सहजता ल्याउनुका साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

मासु पकाएर फ्रिजमा राख्ने र तताएर खाने काम नगर्नुस् :
मासुलाई एकैपटक पकाएर फ्रिजमा राखेर निकाल्दै तताउँदै खानु हुँदैन । यसरी खाँदा मासुको हराएर जान्छ । पकाएको मासु फ्रिजमा राखेर तताएर खाइरहनु भन्दा नपकाएको मासु फ्रिजमा राख्ने अनि आवश्यक पर्दा काँचो मासु पकाएर खाँदा राम्रो हुन्छ । पकाएको बासी मासुको प्रयोग गर्दा पेट ढुस्स हुने, ग्यासट्राइटिस हुन सक्छ । त्यसो भएमा दैनिक रुपमा मासुको प्रयोग गर्नुभएको छ भने एक छाक साधारण खाना खानसक्नु हुन्छ । दशैंमा मासुका विभिन्न परिकारहरु बनेका छन् भन्दैमा आफूले खानै नसक्ने गरी कोचेर मासु खानु हुँदैन ।
दिनमा तीनपटकसम्म मासु र मदिरा खाँदा मधुमेह, उच्च रक्तचाप, युरिक एसिडजस्ता समस्याहरु आउन सक्छ । उच्च रक्तचाप र मधुमेह भएका मानिसहरुले मासु र मदिरा एकै पटक सेवन नगर्दा राम्रो हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । यस्तै मोटोपन भएकाले कम मात्रामा मासु खानुपर्छ । पातलो शरीर भएकाले अपच हुनेगरी खानु हुँदैन । त्यसैले चाडपर्वमा मासु खाँदा सावधानी अपनाएर खानुपर्छ ।
यस्तै दसैँमा बालबालिकाले जंक फुड र कोल्ड ड्रिङ्क्सको धेरै प्रयोग गर्ने गरेका छन् । यस बेलामा बुबाआमाले बालबालिकाको विशेष ध्यान दिनुपर्छ । जंक फुडमा नुन धेरै मिसिएको हुन्छ । त्यस्तै, कोल्ड ड्रिङ्क्समा चिनी धेरै मिसिएको हुन्छ । यसले मुटु र मिर्गौलालाई असर गर्छ । बालबालिकामा पेट दुख्ने बान्ता आउने समस्या हुन सक्छ । त्यसैले अभिभावकले बालबालिकाको विशेष ख्याल गर्नुपर्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
