राष्ट्र बैंकले २७ अर्ब ६६ करोडको ट्रेजरी बिलको बोलकबोल गर्दै

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले यसअघि जारी ट्रेजरी बिलको भुक्तानी दिनेभन्दा सबै ट्रेजरी बिललाई नवीकरण गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार सोमबार ५ अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब १० करोड रुपैयाँको ९१ दिने, १३ अर्ब रुपैयाँको १८२ दिने र १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल आह्वान गरिएको हो ।

२८ दिन, ९१ दिन, १८२ र ३६४ दिने सबै ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज कात्तिक १३ गते सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । सोमबार बोलकबोल आहृवान गरिएको ट्रेजरी बिल कात्तिक १४ गते मंगलबार जारी हुनेछ ।

राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः विक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो ।

पछिल्लो पटकको बोलकबोलमा ३६४ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ५.९०९९ प्रतिशत तय भएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले १८२ दिनको ५.४१९३ प्रतिशत, ९१ दिनको ४.३७९१ र २८ दिनको औषत सबैभन्दा कम २.८७११ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आहृवान गरेको हो । सूचनामा २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने उल्लेख छ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ । केन्द्रीय बैंकले जारी गर्ने २८ दिने ट्रेजरी मंसिर १२ गते, ९१ दिन अवधिको ट्रेजरी माघ १६ गते, १८२ दिने ट्रेजरी २०८१ बैशाख १८ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०८१ कार्तिक १३ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल सरकारले एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यसको निष्कासन गरिन्छ । ट्रेजरी बिलको प्रमाणपत्र भुक्तानी मिति अगावै खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।